चितवनका कार्यक‍र्तालाई गगन थापाको आग्रह : रुखभन्दा दायाँ बायाँ भोट नहाल्नू

हिमाल प्रेस ४ वैशाख २०८० १५:४० | Monday, April 17, 2023
चितवनका कार्यक‍र्तालाई गगन थापाको आग्रह : रुखभन्दा दायाँ बायाँ भोट नहाल्नू फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनस्थित पार्टीका कार्यकर्तालाई वैशाख १० गतेको उपनिर्वाचन‍मा रुख चिह्नमै मतदान गर्न आह्वान गरेका छन्। चितवनको कालिका नगरपालिकामा सोमबार कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले मंसिर ४ को चुनावमा जस्तो यसपटक गल्ती नगर्न आग्रह गरेका हुन्। चितवन- २ मा वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन्।

उनले सम्बोधनका क्रममा मंसिर ४ मा कांग्रेस कार्यकर्ताले रवि लामिछानेलाई भोट दिएको इंगित गर्दै यो पाँच महिनाको बीचमा सुध्रिने मौका आएको बताए।

‘बितेको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंहरुले मान्छे चिनिसक्नु भयो।तपाईंहरूले हिजो के गर्नुभयो? के कारण त्यसो गर्नुभयो? किन गर्नुभयो भन्ने सबै कुरा भुलौँ’, उनले भने, ‘यी कुरा बिर्सिएर म कांग्रेसका सबै साथीहरूलाई नेताहरूसँगका असन्तुष्टि भुलेर अघि बढौँ। विगतका कमजोरिबारे हामी बसेर छलफल गरौँला। अहिलेको चुनावमा कसैले तलमाथि नगरौँ।’

थापाले रुखमा मतदान गर्न नसक्ने भए अहिले नै भन्न कार्यकर्तालाई आग्रह गरे। ‘रुखमा मतदान गर्न नसक्ने भए अहिले नै स्पष्ट भन्नुस्। तर बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्नुस्’, उनले कडा शैलीमा भने, ‘एकजना पनि कांग्रेसका साथीले दायाँबायाँ-तलमाथि नगर्नु होला। मैले सधैँ भन्दै आएको छु, म भगवानमा विश्वास गर्ने मान्छे हुँ। जसको मनमा हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ। बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन्।’

थापाले अहिले पाएको पाँच वर्ष खेर जान नदिने पक्षमा रहेको पनि बताए। ‘हामी पाँच वर्ष खेर जान दिँदैनौँ। त्यसैले आफ्नै सरकारलाई पनि प्रश्न उठाउँछौँ’, उनले भने।

प्रकाशित: ४ वैशाख २०८० १५:४० | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast