चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना प्रक्रिया सच्याउन डा. तोसिमा कार्कीको माग

हिमाल प्रेस ३ वैशाख २०८० १४:४७ | Sunday, April 16, 2023
चिकित्सा शिक्षा स्नातकोत्तर तहको भर्ना प्रक्रिया सच्याउन डा. तोसिमा कार्कीको माग डा.तोसिमा कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षाअन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरेकी हुन्। सरकारले बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेसमा म्याचिङ गरी भर्ना अभियान अघि बढाउनुपर्ने सुझाव उनको छ।

सांसद कार्कीले भनिन्, ‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ। स्नातकोत्तर तर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ। अदालतबाट उचित आदेश प्राप्त भयो। तर पनि भर्ना प्रक्रिया सच्याइएको छैन।’

राष्ट्रिय चिकित्सा ऐन २०७५ को परिच्छेद ६ को दफा १६, १७ र राष्ट्रिय चिकित्सा नियमावली २०७७ को परिच्छेद ५ को दफा १८ र २० मा यो योग्यताक्रमअनुसारको भर्नाको स्पष्ट व्यवस्था छ। एकीकृत प्रवेश परीक्षाको मूल मर्म नै जान्नेलाई छान्ने हो।

कार्कीले भनिन्, ‘यसपटकको त्रुटिपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर बढी अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पनि नपाउने, शिक्षण संस्था र विषय पनि रोज्न नपाउने अवस्था उत्पन्न भएको छ।’ कार्कीले जेहनन्दार विद्यार्थीको मेहनतमाथि कुठाराघात भएको बताइन्।

उनले भनिन्, ‘नियमावली र ऐनको मर्म मिचिएको छ। विगतका वर्षहरुमा झैं कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ। ऐन र नियमावलीको मर्मलाई समेटछ।’ यस्तै अदालती आदेशको पनि सम्मान हुने उनको भनाइ छ।

प्रकाशित: ३ वैशाख २०८० १४:४७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast