मौद्रिक नीतिको समीक्षाले थप हतोत्साहित बनायो : हान

हिमाल प्रेस १४ मंसिर २०७९ १३:२९ | Wednesday, November 30, 2022
मौद्रिक नीतिको समीक्षाले थप हतोत्साहित बनायो : हान

काठमाडौँ- होटल संघ नेपाल (हान)ले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको जनाएको छ।

मौद्रिक नीतिको समीक्षामा होटल तथा पर्यटन व्यवसायीका न्यूनतम मागसमेत पूरा हुन नसकेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘कोरोनाले थला परेको पर्यटन तथा होटल व्यवसायको माग समीक्षाबाट केही सहज हुने आश्वासन पाएका थियौँ,’ हानले भनेको छ, ‘उच्च ब्याजदरबाट देशैभरका व्यवसायी आन्दोलित रहेको अवस्थामा पनि हाम्रो माग अलिकति पनि सम्बोधन गरिएन।’

हानले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेको जनाएको छ।

हानका सदस्यहरूले बैंकलाई साँवा र ब्याज समयसीमाभित्र बुझाउन नसकेकोले यसका लागि समयावधि बढाउने सम्बन्धमा सहजीकरण गरिदिन आग्रह गर्दै आइरहेका थिए।

त्यस्तै चर्को ब्याजदर घटाई होटल सञ्चालन गर्नका लागि पुनर्तालिकीकरण तथा पुनरकर्जा व्यवस्थापनमा व्यवहारिक र सहज स्पष्टतासहितको व्यवस्था गर्न आग्रह गरेका थिए।

यस्ता मागहरू सम्बोधन नहुँदा व्यवसायमा नकारात्मक प्रभाव परेको हानको भनाइ छ।

कोरोना महामारी, विश्वव्यापी आर्थिक मन्दीलगायत कारण अप्ठ्यारोमा परेको पर्यटन व्यवसायलाई राज्यले संरक्षण गर्न नसक्दा व्यवसाय विस्तार हुन नसक्ने हानको ठहर छ।

हानले मुलकको आर्थिक वृद्धिमा होटल तथा पर्यटन उद्योगको योगदानलाई बिर्सन नहुने पनि उल्लेख गरेको छ। ‘गणितीय तथ्यांकका रूपमा मात्रै विश्लेषण गरी यस उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज गरिएको छ,’ हानले भनेको छ, ‘होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउँदै अब आउने सरकारी नेतृत्वले हाम्रा उचित माग सम्बोधन गरिदिन जोडदार माग गर्दछौँ।’

प्रकाशित: १४ मंसिर २०७९ १३:२९ | Wednesday, November 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast