सुदूरपश्चिम : सात पूर्वमन्त्रीको सांसद बन्ने प्रयास विफल

पदमराज भट्ट १४ मंसिर २०७९ १२:०८
78
SHARES
सुदूरपश्चिम : सात पूर्वमन्त्रीको सांसद बन्ने प्रयास विफल

धनगढी- सुदूरपश्चिम प्रदेशबाट सात पूर्वमन्त्रीको संघीय संसद् सदस्य बन्ने प्रयास विफल भएको छ। संसद् छिर्न नपाउनेमा पार्टीको प्रभावशाली भूमिकामा रहेका र स्थापित नेता पनि छन्। पराजित हुने सातमध्ये चार जना एमाले, कांग्रेस, माओवादी र स्वतन्त्र उम्मेदवार एकएक जना छन्।

लेखराज भट्ट पार्टीका केन्द्रीय सचिव हुन्। प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका भट्ट प्रतिनिधिसभा सदस्यमा भने पराजित भए।  कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिएका उनलाई सत्ता गठबन्धनको साथमा नेपाली कांग्रेसका वीरबहादुर बलायरले तीन हजार ५८४ मतान्तरसहित पराजित गरे। बलायर कांग्रेस सुदूरपश्चिमका सभापति हुन्।

भट्टले २२ हजार ५८७ मत प्राप्त गर्दा बलायरले २६ हजार १७१ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रमा रहँदा भट्ट एकपटक पराजित भएका थिए। पहिलो संविधानसभा सदस्य निर्वाचनमा विजयी भट्ट दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० भने पराजित भए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी वाम गठबन्धनबाट विजयी भएका थिए।

माओवादी–एमाले एकीकरण हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली निकट भएका भट्टले ओलीलाई नै साथ दिँदै आएका छन्।

भट्ट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा श्रम तथा यातायातमन्त्री भएका थिए। उनले केपी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयको नेतृत्व गरेका थिए।

पूर्वखानेपानी मन्त्री बिना मगर कञ्चनपुर–१ बाट पराजित भएकी छन्। उनी एमालेका सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिलामन्त्री तारालामा तामाङसँग मगर पराजित भएकी हुन्।

मगरलाई तामाङले चार हजार ९११ मत अन्तरले पराजित गरे। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मतमा चित्त बुझाउनुपरेको छ। मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ की बुहारी हुन्।
दार्चुलामा पूर्वसामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना बहालवाला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग पराजित भएका छन्।

गठबन्धनका उम्मेदवार बडूले २८ हजार ५१५ मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत ल्याएर पराजित भएका छन्। ठगुन्ना २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा दार्चुलाबाट निर्वाचित भएका थिए।

कैलाली–१ मा पूर्वमन्त्री रामजनम चौधरी फराकिलो मतान्तरले पराजित भएका छन्। कांग्रेसका चौधरीलाई १२ हजार ३२३ मतान्तरले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पराजित गरेकी हुन्। पराजित चौधरीले १८ हजार ८१ मत पाउँदा विजयी चौधरीले ३० हजार ४०४ मत पाए।

चौधरी सामान्य प्रशासन सहायकमन्त्री, शिक्षा सहायकमन्त्री, भूमि सुधार राज्यमन्त्री र स्वास्थ्यमन्त्री भइसकेका छन्।

कैलाली–३ मा पूर्वमन्त्री गौरीशंकर चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार व्यहोरेका छन्। नौ हजार ८७४ मत प्राप्त गरेर उनले तेस्रो स्थानमा सीमित भए। कैलाली क्षेत्र नम्बर ३ को निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए।

गौरीशंकर एमालेबाट चुनाव लडेका थिए। उनी कृषि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा गरेर दुईपटक मन्त्री भइसकेका छन्।

कैलाली नं. ५ मा दुई पूर्वमन्त्री नारदमुनि राना र पुष्करनाथ ओझा एकैपटक पराजित भएका हुन्। पूर्व वन तथा वातावरणमन्त्री रहेका राना नेपाली कांग्रेसका डिल्लीराज पन्तसँग एक हजार ७४ मतान्तरले पराजित भए।

एमालेका रानाले २० हजार ३१८ मत प्राप्त गर्दा विजयी पन्तले भने २१ हजार ३९२ मत पाए। आठ हजार ३४९ मत पाएका ओझा तेस्रो स्थानमा सीमित भए। उनी स्वतन्त्रबाट चुनाव लडेका थिए।
राना २०७४ को निर्वाचनमा कांग्रेस नेत्री डा. आरजु राणा देउवालाई पराजित गरेर चर्चामा आएका थिए।

पूर्व राज्यमन्त्री ओझाले २०५६ को आमनिर्वाचनमा कैलालीकै क्षेत्र नम्बर ३ बाट जितेका थिए। २०७० को उपनिर्वाचन भने उनले क्षेत्र नम्बर ५ बाट जितेर मन्त्री बन्ने अवसर पनि पाएका थिए।

प्रकाशित: १४ मंसिर २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =