काठमाडाैँमा वायोग्यास प्लान्ट पुन: सञ्चालन

हिमाल प्रेस २८ चैत २०७९ २१:०० | Tuesday, April 11, 2023
काठमाडाैँमा वायोग्यास प्लान्ट पुन: सञ्चालन सांकेतिक तस्बिर।

काठमाडौँ- पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट काठमाडौँ महानगरपालिकाले पुनःसञ्चालनमा ल्याएको छ। फोहोरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र महानगरपालिकाको लगानीमा वायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो।

टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी शनिबारदेखि पुनःसञ्चालनमा ल्याइएको महानगरपालिकाले जानकारी दिएको छ।

महानगरपालिका वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यले परियोजना पुनःसञ्चालनमा ल्याइएको बताए। यसले कुहिने फोहोरको दिगो व्यवस्थापन पनि हुने उनले बताए।

प्लान्ट सञ्चालनमा ल्याउन दुई महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रले मर्मतलगायतका काम गरिरहेको थियो। परियोजना सञ्चालनका लागि युरोपियन युनियनले ४ करोड ६० लाख रुपैयाँ र महानगरपालिकाले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेको थियो।

एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित परियोजनाका लागि दैनिक तीन मेट्रिक टन जैविक फोहोर आवश्यक पर्छ। उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता रहेको छ।

अहिले बिजुली उत्पादनकै लागि फोहोर जम्मा गरेर कम्पोस्टिङ गर्ने काम भइरहेको महानगरपालिकाले बताएको छ।

२०७० सालदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको परियोजना २०७४ मा तत्कालीन नगरप्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो। महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न भन्दै कम्पोस्ट मल बनाउने काम पनि सुरु गरेको छ। टेकुस्थित ट्रान्सफर स्टेसनमा एक स्थानबाट मात्रै कुहिने फोहोरबाट मल बनाउन सुरु गरेको महानगरपालिकाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरु गरिसकेको छ।

परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र एक महिनाभित्रै बञ्चरेडाँडामा पनि सुरु गर्ने तयारी महानगरपालिकाले गरेको छ। मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्नेछ। रासस

प्रकाशित: २८ चैत २०७९ २१:०० | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast