केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव गोविन्दराज जोशीद्वारा अस्वीकार

हिमाल प्रेस २७ चैत २०७९ १३:०२
364
SHARES
केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्ताव गोविन्दराज जोशीद्वारा अस्वीकार

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन्। सोमबार धुम्बाराहीमा जोशीका तर्फबाट छोरा दीपकराज र सभापति देउवाबीच भएको छलफलमा देउवाले यस्तो प्रस्ताव गरेका हुन्। तर, दीपकराजले देउवाको प्रस्ताव स्वीकार्न नसक्ने जवाफ दिएको बताए।

दीपकराजले गोविन्दराजसहितका मानिसहरूलाई पार्टीमा सम्मानजनक फिर्ता हुने वातावरण बनाउने प्रस्ताव गरेका थिए। जवाफमा देउवाले गोविन्दराजलाई केन्द्रीय सदस्यबाहेक केही बनाउन नसक्ने बताए।

‘पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ, गोविन्द‍राज जोशी जस्ता मान्छेलाई पार्टी बाहिर राखेर हुँदैन पनि भन्ने अनि हेपाइ र पेलान गरेर पल्लो छेउमा पुर्‍याउन पनि नछोड्ने गरेर कहाँ हुन्छ त भनेर मैले कुरा राखेँ,’ दीपकराजले हिमालप्रेससँग भने, ‘उहाँ(देउवा)ले तपाईंहरूलाई चाहिने नै हो भने गोविन्दलाई केन्द्रीय सदस्य बनाउँला भन्नु भयो। सरसर्ती हेर्दा अहिले तनहुँमा गोविन्द भट्टराईलाई चुनाव जिताउने हतकण्डाबाहेक केही देखिएन।’

दीपकराजले व्यवस्थापन गोविन्दराजको मात्रै नभई यो समूहमा खुलेका सबैको हुनुपर्ने पनि बताए। ‘हामी कांग्रेस बिग्रियो भन्ने अनि आज एउटा पद दियो भनेर खुसुक्क जाने खालको मान्छे होइनौँ। यसो गरियो भने त अहिको कांग्रेको नेतृत्व र हामीमा के फरक हुने भयो र?,’ उनले भने, ‘हामी त कांग्रेस सुध्रियोस्। राम्रो होस् भन्ने चाहेका मान्छे हौँ। चुनावको हतकण्डामात्र बनाउनु भएन। असन्तुष्ट भएकाहरूलाई पार्टीमा त्यही किसिमको भाग चाहियो। बुवाको पनि सम्मानजनक रुपमा पार्टीमा फिर्ता होस् भन्ने चाहियो।’

उनले देउवासहित नेतृत्वमा पार्टी बनाउने इच्छा नै नभएको पनि आरोप लगाए। तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अहिलेकै अवस्थामा सहयोग गर्न नसकिने दीपकराजको तर्क छ। यसपटक तटस्थ बस्ने सम्भावना रहेको उनको भनाइ छ।

तनहुँमा नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् स्वर्णिम वाग्ले पनि उम्मेदवार छन्। कांग्रेसको भोट वाग्लेले काट्ने त्रासकैबीच कांग्रेसले जोशी समूहलाई फकाउने प्रयास गरिरहेको छ।

प्रकाशित: २७ चैत २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast