काठमाडौँ- औषधि व्यवसायीले औषधि व्यवसायीहरूलाई पनि बीमामा जोड्नुपर्ने माग गरेका छन्। नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै व्यवसायीहरूले आफूहरूलाई बिमामा जोड्ने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
बागमती प्रदेश औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीहरूलाई बिमामा संलग्न गर्न नसके निकट भविष्यमा नै औषधि पसलहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए।
बिमामा औषधि व्यवसायीहरूलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै उनले प्रश्न गरे। अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बिमामा संलग्न गरेर व्यवसाय सुरक्षित गर्नुपर्ने माग गरे। ‘हामीमा इन्स्योरेन्सको समस्या धेरै बढेको छ। इन्स्योरेन्सका कारण व्यवसायीहरूको पसल बन्द गर्नुपर्ने अवस्था आइसकेको छ,’ उनले भने, ‘हामी सबै नेपालीहरू यो इन्स्योरेन्समा जोडिनुपर्छ। सरकार उपस्थित नभएको ठाउँमा हामी व्यवसायीले सेवा दिइरहेका छौँ। इन्स्योरेन्सको पोलिसीमा हामी औषधि व्यवसायीहरूलाई सरकारले संलग्न किन गराउन नसक्ने?’
त्यस्तै औषधि व्यवसायी डा. सन्तोष केसीले नेपालमा औषधि फार्मेसीहरूलाई घटाइ व्यवस्थित गर्नुपर्ने बताए। उनले औषधि पसलहरू नियन्त्रित व्यवसायभित्र पर्ने भएकाले राज्यले निरीक्षण गर्नुपर्ने पनि बताए। ‘नेपाल एकदमै धेरै फार्मेसी भएको ठाउँ रहेछ,’ उनले भने, ‘अमेरिकामाभन्दा पनि धेरै घनत्व छ। १८ सय जना बराबर एउटा फार्मेसी रहेछ।’