दिगो विकासका लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

हिमाल प्रेस २४ चैत २०७९ १६:१८
2
SHARE
दिगो विकासका लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजीक्षेत्रले सहकार्य गर्नुपर्ने बताएका छन्। साथै सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य भएमा मात्रै दिगो विकासका लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताएका हुन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकमा उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताए।

त्यसका लागि निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ थियो। ‘यी सबै क्षेत्र बीच समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘अन्य क्षेत्रले आआफ्नो जिम्मेवारी बोध गरी दिगो विकासअनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ।’

दिगो विकास लक्ष्य कार्यान्वयनमा तीनै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी हुने भन्दै उनले संविधानले धेरै अधिकार र स्रोतसाधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको बताए। ‘दिगो विकास लक्ष्य प्राप्तिमा समष्टिगत सरकारको अवधारणा अवलम्बन गर्नु जरुरी छ,’ उनले भने, ‘सबै तहका सरकारको क्रियाशीलताबाट मात्रै दिगो विकासको सफल कार्यान्वयन भई अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दछ।’

अन्तर्राष्ट्रियरूपमा प्रतिबद्धता जनाएअनुसार नै दिगो विकास लक्ष्य कार्यान्वयनमा सरकारको जोड रहेको उनले बताए। नेपालले दिगो विकास लक्ष्यलाई चौधौँ योजनादेखि नै बजेट तथा कार्यक्रममा आन्तरिकीकरण गर्न सुरू गरेको भन्दै उनले पन्ध्रौँ योजना पनि दिगो विकास लक्ष्यसँग सामञ्जस्य कायम गरी तयार गरिएको बताए।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा सरकार रहेको भन्दै उनले दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि उनले निर्देशन दिए।

प्रकाशित: २४ चैत २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =