प्रधानमन्त्रीले निर्देशन दिने र घोषणा गर्ने होइन परिणाम दिने गरी काम गर्नुपर्‍यो : गगनकुमार थापा

हिमाल प्रेस २४ चैत २०७९ १५:०९
22
SHARES
प्रधानमन्त्रीले निर्देशन दिने र घोषणा गर्ने होइन परिणाम दिने गरी काम गर्नुपर्‍यो : गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सरकारको नीतिगत प्राथमकिता र न्युनतम कार्यक्रम प्रतिनिधिसभा बैठकमा पेस किन नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारका नीति कार्यक्रम संसद्‌मै पेस हुनुपर्ने बताएका हुन्।

‘सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सदनमा प्रस्तुत हुनुपर्थ्यो भनेर आवाज उठेको छ। म पनि त्यही भन्छु। हिजो पनि यसरी नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएर संसद्मा जानकारी गराइएको थिएन,’ उनले भने, ‘हामीले गलत भयो भन्दा साथीहरूले हैन ठिक थियो भन्नुभयो। अहिले हामी सत्ता पक्षकाहरूले त्यो कुरा ठिक थियो भन्नु हुँदैन। संसद्‌मा त्यसलाई प्रस्तुत गर्नुपर्छ।’

उनले संसद् चलिरहेको अवस्थामा यस्ता ‘डकुमेन्ट’हरू संसद्‌मा प्रस्तुत गर्ने अभ्यास स्थापित गर्नुपर्ने बताए। थापाले सरकारको कार्यक्रममा धेरै कुरा समेटिएको भन्दै केही कमीकमजोरी पनि रहेकाले त्यसलाई सुधार गर्दै कार्यान्वयन गर्नुपर्ने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्देशन, घोषणा छोडेर परिणाम दिने काम गर्न सुझाव दिए। समय तोकेर काम गर्नुपर्ने उनको भनाइ छ। ‘प्रधानमन्त्री अब ६ महिनामात्रै समय छ भनेर अघि बढ्नुस्। यसका लागि केही मुख्य कार्यक्रम छन्। देशका लागि हुने कार्यक्रममा यो पार्टी त्यो पार्टी नभनी हामी सहयोग गर्न तयार छौँ। मानव तस्करीका घटनामा नेताहरू नै संलग्न भएको कुरा आएको छ,’ उनले भने, ‘यसमा प्रधानमन्त्री निर्मम भएर लाग्नुस्। बोलेर हुँदैन काम गरेर देखाउनुस्। सरकारले एक दिन एक परिणाम नाराका साथ काम गरोस्। केही कामहरूको नियत ठीक भए मात्रै पनि परिणाम आउँछ। हामीले अहिले नेपालको शिक्षा हेर्दा प्राथमिकमा कति भर्ना हुन्छन्? ८ कक्षा हुँदै १० पुग्दा कति विद्यार्थी रहन्छन्? यसमा सरकारको ध्यान दिनुपर्छ।’

परिणाम दिनेगरी काम गर्न प्रधानमन्त्रीले हरेक मन्त्रीलाई बोलाएर समस्या पहिचान गरी समाधान गर्न ध्यान दिनुपर्ने थापाको भनाइ छ। ‘प्रधानमन्त्रीको काम निर्देशन घोषणा निर्देशन होइन काम गर्नुस्। एक मन्त्री बोलाउनुस् एकएक गरेर काम गर्नुस्। संसद्‌मा रोकिएको छ भने हामी छौँ निकास दिने। अर्थतन्त्र समस्याग्रस्त छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्र कोभिड नभएको भए, युक्रेनको आक्रमण नभएको भए पनि समस्यामा जान्थ्यो जान्थ्यो। सिस्टममा समस्या छ। ०७४ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला भनेको थेँ। अहिले पनि भन्छु सरकारले काम गरोस् । नयाँ दलले भन्लान् पुरानाले काम नगरेर हामी गर्छौँ हामीलाई त्यो छुट छैन।’

प्रकाशित: २४ चैत २०७९ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =