काठमाडौँ- वैशाख १०मा हुने उपनिर्वाचनमा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन-२ मा उम्मेदवार रहेका रवि लामिछानेविरुद्ध युवराज सफलले दिएको उजुरी नलाग्ने भएको छ।
लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको तर उक्त नागरिकता नै वैध नभएकाले नामावली पनि अवैध भएको दाबी गर्दै सफललगायत चार जनाले उजुरी दिएका थिए।
तीमध्ये बाँकी तीन जना उम्मेदवार भएकाले उजुरी लाग्ने तर युवराज भने उम्मेदवार नभएकाले उनको उजुरी नलाग्ने आयोगको भनाइ छ।
उजुरीमा नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर गरिएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुनःनागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए।
सफलसँगै स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले उजुरी दिएका थिए। तीन उम्मेदवारको उजुरी भने लाग्ने आयोगले बताएको छ।
लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा स्पष्टीकरण बुझाइसकेका छन्। ६ पेजको स्पष्टीकरण पत्र बोकेर लामिछाने बुधबार दिउँसो १२:३० तिर मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेका थिए।
कार्यालयले बुधबारै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
रविकै केसमा युवराजले सर्वोच्चमा पनि महान्यायाधिवक्ताको कार्यालयविरुद्ध रिट दायर गरेको छ। रविले पासपोर्ट दुरुपयोगको अभियोग लागेपनि महान्यायाधिवक्ताको कार्यालयले अघि नबढाउने निर्णय गरेको थियो।