 
                            
                                            काठमाडौँ- पूर्व गोरखा सैनिक हरि बुढामगर सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। उनी बुधबार त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
दुवै खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन्।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले ५ वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए। उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गरे। ‘म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ, हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनु छ । मेरो आरोहण दुई महिनाको हुनेछ,’ उनले भने।
सन् २०१० मा अफगानिस्तानको लडाईंमा हरिले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।
बुढामगरले मोन्ट ब्लांक (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्। उनले सन् २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए। उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा भएको हो। यसअघि पनि उनीँ सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 