जमिन भासिने र पहिरो खस्‍ने समस्याले सधैं धुलाम्य मेची राजमार्ग

हिमाल प्रेस १६ चैत २०७९ १९:४७
10
SHARES
जमिन भासिने र पहिरो खस्‍ने समस्याले सधैं धुलाम्य मेची राजमार्ग

पाँचथर– जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका ४ जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ। २ सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ।

इलामको माइखोला क्षेत्र तथा पाँचथरको पांग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ।

जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उनले बताए। जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैं धुलो र हिलोको समस्याले सताउने गरेको छ।

जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माइखोलामाथिका ३ स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष ०७१/०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो।

६ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ। भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतीपूर्ण हुने गरेको छ।

इलाममा माइखोला-भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ। यस स्थानमा १० वर्षमा करिब ३ मिटर सडक भासिएको पाइएको छ।

यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी-दानाबारी-राकसे-बेलासे-भञ्ज्याङ सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने बनेको छ। धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन्।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा-७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ। स्थानीयवासी राजेन्द्र काफ्लेकाअनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्यो। सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ।

‘सडक भन्दामुनि जमिनमा ठूलो भास छ। बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ,’ उनले भने, ‘घ्यापे दीर्घकालीन समस्या बनेको छ।’

यस स्थानमा ०४२ सालमा सडक विस्तार भई ०४३ सालदेखि सवारी साधन चल्न थालेका थिए। सडकको माथिल्लो भागमा पाइप लगाई पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन।

उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ। यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती-चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ। ‘यी दुवै सडक मर्मत सम्भार गरे चलाउन सकिन्छ,’ उनले भने।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पांग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो।

व्यवसायीले आफूखुसी ढुंगा उत्खनन गर्दा झरेको पहिरोका कारण ४ वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो। एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो।

पांग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ। तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन। वर्षा हुनासाथ ढुंगामाटो सडकमा झर्ने गर्दछ। सडक डिभिजन कार्यालय इलामले कंक्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ।

पांग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा-निबुखोला-राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो।

उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन्। त्यसैले यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन्।

पहिरो झरेर पांग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ। ‘यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ,’ उनले भने।

मेची राजमार्ग ०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो।०३३ देखि भने सरकारी बजेटमै सडक निर्माण हुन थाल्यो। ताप्लेजुङ-पाँचथर-इलामको ‘लाइफलाइन’रहेको यो सडक अहिले निकै व्यस्त हुने गरेको छ। यहाँ यात्रुवाहक सवारीका साधनको चाप दैनिक रूपमा बढिरहेको छ।

यातायात सुविधापछि ताप्लेजुङमा रहेको पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौंको संख्याका तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्दछन्।

यस्तै खाद्यान्न, मालसामानलगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजहरूको निकासीमा समेत यो राजमार्ग महत्त्वपूर्ण रहेको छ।

यद्यपि जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी बेहोर्नुपर्ने अवस्था छ। झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौं खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ।

राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रूपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ। यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ। -रासस

प्रकाशित: १६ चैत २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast