मेलम्चीको पानी फेरि हालियो सुरुङमा

हिमाल प्रेस १२ मंसिर २०७९ १७:१० | Monday, November 28, 2022
मेलम्चीको पानी फेरि हालियो सुरुङमा मेलम्ची खानेपानी आयोजनाको सुरुङ

काठमाडौँ– वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने पनि उनले बताए।

आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरीएको बताइएको छ। सुरुङ सफा गरिसकेपछि अर्को हप्ता भने मेलम्चीको पानी राजधानीस्थित ग्राहकलाई वितरण गरिने छ।

पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।

वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।

०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो। भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारामा आएको पानी पिएर राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी वितरणको औपचारिक सुरुवात गरेकी थिइन्।

०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवम् प्रवेशमार्गमा क्षति पुगेपछि ०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।

मेलम्चीको मुहानस्थलमा हेडवर्क्स निर्माणको काम नसकिएकाले मेलम्चीको पानी राजधानी आउन सकेको छैन।

प्रकाशित: १२ मंसिर २०७९ १७:१० | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast