चीन पुगेर ताइवानका पूर्वराष्ट्रपति मा यिङ जोले भने : ताइवानी पनि चिनियाँ

हिमाल प्रेस १४ चैत २०७९ १४:२०
10
SHARES
चीन पुगेर ताइवानका पूर्वराष्ट्रपति मा यिङ जोले भने : ताइवानी पनि चिनियाँ चीन पुगेका ताइवानका पूर्वराष्ट्रपति मा यिङ जो

काठमाडौँ- चीन पुगेका ताइवानका पूर्वराष्ट्रपति मा यिङ जोले ‘ताइवान स्ट्रेट’ को वारिपारि बस्नेहरूको पुर्खा एउटै भएको अभिव्यक्ति दिएका छन्। सोमबार चीन ओर्लिएको मा यिङ जोले चीन र ताइवानमा बस्ने सबैको जात चिनियाँ रहेको बताए।

सन् २००८ देखि २०१६ सम्म ताइवानको राष्ट्रपति रहेका मा यिङ जोको चीन भ्रमणको ताइपेईमा विरोध भइरहेको छ। उनीअघि ताइवानबाट कुनै पनि राष्ट्रपति वा पूर्वराष्ट्रपति चीन गएका थिएनन्।

माओ जेदोङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी ले सन् १९४९ मा चीनमा सत्ता कब्जा गरेसँगै गणतन्त्र चीनका शासक ताइवातिर पलायन हुन बाध्य भएका थिए। चीनको पूर्वतिर रहेको ताइवान टापूमा गणतन्त्र चीनको स्थापना गरिएको थियो।

जसलाई १८० किलोमिटर लामो ‘ताइवान स्ट्रेट’ ले छुट्टाएको छ। ‘ताइवान स्ट्रेट’ साउथ चाइना सी अन्तगर्तको सामुद्रिक क्षेत्र हो।

सी चिनफिङ नेतृत्वको चिनियाँ सरकार ताइवानलाई एकिकरण गर्न चाहन्छ। मा यिङ जो यस्तो बेला चीन भ्रमणमा निस्किएका छन्, जति बेला चीन ताइवानमाथि राजनीतिक र सैन्य दबाब सिर्जना गरिरहेको छ।

ताइवानमा सरकार चलाइरहेको डेमोक्र्याटिक प्रोगे्रसिभ पार्टी डीपीपीले मा यिङ जोको चीन भ्रमणमाथि प्रशन उठाइरहेको छ। मध्य अमेरिकी देश होन्डुरसले ताइवानसँगको कूटनीतिक सम्बन्ध रद्द गरेको एक दिनपछि नै मा यिङ जो चीन जानुले सन्देश राम्रो नदिएको डीपीपीको जिकिर छ। अब ताइवानसँग कूटनीतिक सम्बन्ध भएका देशको संख्या १३ मा झरेको छ।

मा यिङ जोको पार्टी कुमिनताङ हाल ताइवानको सबैभन्दा ठूलो विपक्षी पार्टी हो। जसलाई ‘प्रो चीन’ मानिन्छ। मा यिङ जो सोमबार नानजियाङस्थित सन याटको समाधिस्थलमा पुगेका थिए। सनकै नेतृत्वमा सन् १९११ मा चीनमा गणतन्त्र स्थापना भएको थियो।

मा यिङ जोले सनको तारिफ गरे। सनलाई गणतन्त्र चीनको संस्थापक मानिन्छ। तर उनले स्थापना गरेको गणतन्त्र चीन कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीनमा रुपान्तरित भएको थियो।

‘ताइवान स्टे«टको वारिपारि बस्ने सबै चिनियाँ हुन्। हामी सबै यान र यल्लो सम्राटाका सन्तति हौँ,’ मा यिङ जोले पुर्खाहरूलाई सम्झिँदै भने। मा यिङ जोले प्रयोग गरेको चिनियाँ शब्दको संकेत राष्ट्रियता नभई जाति हो।

मा यिङ जोले चीनमा क–कसलाई भेट्छन् भन्ने टुंगो छैन। उनी बेइजिङ गएर राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तालिका अहिलेसम्म बनिसकेको छैन। तर मा यिङ जोले आफूलाई बेइजिङ बोलाइए त्यता जान तयार रहेको बताएका छन्। मा यिङ जोले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पछिल्लो पटक सन् २०१५ मा सिंगापुरमा भेटेका थिए।

प्रकाशित: १४ चैत २०७९ १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast