दाङ- घोराही उपमहानगरपालिका-५, वसन्तापुरकी दीपा डाँगीले नजिकै रहेको दुर्गा सामुदायिक वनमा बाख्रा चराउन लैजाँदा बाघले पाँचवटा ठूला खसी मारिदियो।
उनीसँग अहिले पनि २० खसीबाख्रा छन्। ‘घर नजिकै जंगल छ, चराउन सजिलो होला भनेको झनै दुःख भयो, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गयो,’ उनले भनिन्, ‘खोरमै आएर खान्छ कि भन्ने डर हुन थाल्यो।’
सोही ठाउँका मोहन वलीका तीन खसी गत असोजमा सोही जंगलमा चराउन लगेका समयमा बाघले मारिदियो। उनी भन्छन्, ‘वर्षभरि पालेका खसी बिक्री गरेर पैसा होला भन्ने बेलामा बाघले खायो, घर नजिकै वन छ, वनमा बाख्रा चराउँदा बाघले खान्छ, बाघ बाख्राको पछि लागि बस्तीसम्म आउँछ कि भन्ने डर लागिरहन्छ।’
यही फागुन २ गते राति लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले १७ बाख्रा एकै रातमा मारिदियो। ‘रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ, पत्तै पाइएन, बिहान बाख्रालाई दाना दिन गएका बेला मरेको देखेपछि मात्रै थाहा भयो,’ उनले भने, ‘दुःख गरेर पालेका बाख्रा बाघले एक रातमै सखाप बनाइदियो।’
लमही–३ जखेरातालका सुकबहादुर डाँगीका चार बाख्रा चितुवाले मारिदियो। डाँगीले जंगलमा चराउन लगेको बेलामा चितुवाले मारिदिएको हो। पछिल्लो समय सामुदायिक वनमा बाघ र चितुवाको आतंक बढेको छ। बाख्रा चरिचरनका लागि जंगल लैजाँदा वा घरमा खोरमा राखिएका बेलामा पनि खोरमा पसेर बाघ र चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
बाघ र चितुवाले बाख्रा मारिदिने, खाइदिने गर्न थालेपछि किसान चिन्तित र त्रसित बनेका हुन्। चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराइएको छ।
वनजंगलमा बस्ने बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले पनि स्थानीयलाई सास्ती दिने गरेका छन्। मेहनतका साथ फलाएका अन्नबाली भित्र्याउने बेलामा बाँदरले क्षति पुर्याएर जिल्लाका दंगीशरण, बबई, बंगलाचुली, राजपुरलगायत ग्रामीण क्षेत्रका किसानले हैरानी भोग्दै आएका छन्।
वन्यजन्तुमा पनि विशेषगरी हात्ती र बाघको आक्रमणबाट धेरैको मृत्यु भएको तथ्यांकले देखाउँछ। आहार खाइरहेका बेला, संसर्गका बेला वा बच्चासँग भएका बेला बाधा सिर्जना गरे अथवा जिस्काए आक्रमण गर्ने जोखिम बढी हुने डिभिजन वन कार्यालय लमहीका कार्यक्रमका स्रोत व्यक्ति चिरञ्जीवी खनालले बताए।
‘मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ, त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ,’ उनले भने, ‘कतिपय अवस्थामा आहाराको खोजीमा रहेका बेला ती जनावर मानव बस्तीसम्म आइपुग्छन्।’
संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम बनेका छन्। विकास निर्माणका काम वन्यजन्तुमैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रूपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तु पनि मारिने क्रम बढेको उनको भनाइ छ।
दाङमा बाघले घरपालुवा जनावर मार्ने क्रम बढ्न थालेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन सुरु गरिएको छ। दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटेबाघको अध्ययन सुरु गरिएको हो।
सरकारीस्तरबाट पाटेबाघको अवस्था पत्ता लगाउन अध्ययन सुरु भएको बताइएको छ। दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन। त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको हो ।
बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य वन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ। झन्डै दुई सय क्यामरा जडान गरिएको खनालले जानकारी दिए।