सर्वोच्चले अन्तरिम आदेशका मुद्दालाई सुनुवाइमा प्राथमिकता दिने

हिमाल प्रेस ५ चैत २०७९ २१:४१ | Sunday, March 19, 2023
सर्वोच्चले अन्तरिम आदेशका मुद्दालाई सुनुवाइमा प्राथमिकता दिने

काठमाडौँ- सर्वोच्च अदालतले अन्तरिम आदेशका मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतको शुक्रबार (चैत ३ गते) बसेको पेसी व्यवस्थापन निर्देशन समितिको बैठकले अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेशको छलफलमा पेस भएका निवेदन र खारेजसम्बन्धी निवेदनहरूको शीघ्र सुनुवाइ गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्तरिम आदेशका मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ गर्ने निर्णय गरिएको जानकारी दिए। अदालतले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अदालतमा दर्ता भई विचाराधीन अवस्थामा रहेका रिट निवेदनमध्ये प्रारम्भिक सुनुवाइको क्रममा अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलको लागि अर्को पक्षलाई झिकाइ सुनुवाइ गर्न इजलासबाट आदेश भएका रिट निवेदन लामो समयसम्म सुनुवाइ नभएको उल्लेख छ।

अल्पकालीन अन्तरिम आदेशमा मुद्दामा शीघ्र सुनुवाइ गर्ने उल्लेख गर्दै भनिएको छ, ‘अल्पकालीन अन्तरिम आदेश दीर्घकालीन आदेशको रूपमा लामो समयसम्म कायम रहने स्थिति सिर्जना हुन गएको देखिँदा अल्पकालीन अन्तरिम आदेश जारी भई अन्तरिम आदेश छलफलका लागि पेसी चढेका र एक पक्षीय सुनुवाइबाट अन्तरिम आदेश जारी भएका मुद्दालाई पेसी व्यवस्थापन गरिनेछ।’

यो निर्णयले अब अभियान फाँटअन्तर्गत पेसी चढेकाबाहेक सबै मुद्दाले सुरुमै पालो पाउने सर्वोच्चको भनाइ छ। सर्वोच्चमा मुद्दा धेरै हुँदा तीन दिनभित्र फैसला गर्ने भनी इजलासबाट पेसी तोकिएको मुद्दा पनि दुई वर्षसम्म पालो नआउने हुँदै आएको छ। रासस

प्रकाशित: ५ चैत २०७९ २१:४१ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast