‘रेड नोटिस’ जारी भएका व्यक्ति यूएईबाट पक्राउ

हिमाल प्रेस ३ चैत २०७९ ७:५० | Friday, March 17, 2023
‘रेड नोटिस’ जारी भएका व्यक्ति यूएईबाट पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (यूएई)बाट पक्राउ गरी नेपाल ल्याइएको छ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई यूएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ।

उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोध र एनसीबी यूएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

व्यक्ति हत्यापछि चौधरी फरार भई यूएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो।

चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो। इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसीबी यूएईलाई जानकारी गराइएको थियो।

प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो। एनसीबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो ।

त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो।

प्रकाशित: ३ चैत २०७९ ७:५० | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast