लिगमा रमाउँदै मनाङ मर्स्याङ्दी

हिमाल प्रेस १ चैत २०७९ २२:१०
46
SHARES
लिगमा रमाउँदै मनाङ मर्स्याङ्दी

काठमाडौँ- नेपाली फुटबलमा मनाङ मर्स्याङ्दीको परिचय बलिष्ठ छ। मनाङले जति अरु क्लबले सहिद स्मारक ए डिभिजन लिग जितेकै छैनन्। कुनैबेला पहिलो एघार नै राष्ट्रिय खेलाडीले भरिने मनाङ यसपालि केही फरक देखिएको छ। घरेलु फुटबलका ‘स्टार’ को सट्टा युवा खेलाडीलाई समेटेको छ। उनीहरूलाई सघाउन केही ‘हाई प्राफोइल’ विदेशी खेलाडी भित्र्याएको छ।

कम नाम चलेका नेपाली खेलाडी बहुल टिम लिएर लिगमा होमिएकाले हुनसक्छ मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले गत बुधबार भने, ‘हामीलाई उपाधि जित्ने दबाब छैन। हाम्रो लक्ष्य शीर्ष चारमा पर्ने हो।’

मनाङको व्यवस्थापन समितिले उपाधि जित्नैपर्छ भनेर दबाब नदिएको किरणको भनाइ थियो। ‘कुनै समय मनाङमा १४-१५ जना राष्ट्रिय खेलाडी हुन्थे। अहिले हामीले युवा खेलाडीलाई मौका दिएका छौँ। व्यवस्थापनले मलाई आफ्नो हिसाबले टिम बनाऊ, खेलाऊ भनेको छ। त्यही अनुसार टिम निर्माण भएको छ,’ संकटालाई १-० ले हराएपछि किरणले भनेका थिए।

कुनै पनि टिममाथि उपाधि जित्ने दबाब उसको विगतका कारण हुन्छ। टिम बनाउँदा गरेको खर्च पनि एउटा कारण बन्छ। मनाङ अरु केही क्लबभन्दा कम खर्चिलो देखिए पनि विगतको सम्बृद्ध इतिहासको निगरानीमा छ। यसकारण आठ पटकको च्याम्पियन मनाङमाथि स्वाभाविक रुपमा उपाधि जित्ने दबाब छ नै।

यही दबाबबाट मुक्त हुने बाटोमा अघि बढेको छ, मनाङ। बुधबार साँझ न्युरोड टिम (एनआरटी) माथि ३-१ को जित दर्ता गरेपछि मनाङ शीर्ष तीनभित्र छिरेको छ। मनाङसँग अब चार खेलबाट आठ अंक छ। जुन शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडभन्दा दुई र दोस्रो स्थानको सातदोबाटो युथ क्लबभन्दा एक अंकले कम हो।

मनाङ आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी रोकिएको थियो। रोशन राना मगरले पहिलो हाफमा गोल गरेपछि खेलमा आरामले अघि बढेको मनाङ दोस्रो हाफको ८५ औँ मिनेटमा गोल खान पुग्यो। सुरेश कुमालले गरेको त्यो बराबरी गोललाई किरणले ‘फ्ल्युक गोल’ भनेका थिए। दोस्रो खेलमा संकटालाई पराजित गरेको मनाङले तेस्रो खेलमा च्याम्पियन मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेल्यो।

मनाङले बुधबार जित हात पार्दा दुई विदेशी खेलाडीले गोल गरे। रोशनले ३९ औँ मिनेटमा गरेको गोलले अघि बढेको मनाङले दोस्रो हाफमा दुई गोल थपेको थियो। लिगमा व्यक्तिगत दोस्रो गोल गर्न रोशनले फुलब्याक रन्दिप पौडेलको क्रस उपयोग गरे। रन्दिपले दिएको लामो पास सुन्दर ढंगमा नियन्त्रणमा लिएका रोशनले नजिकैबाट गोल गरे। राइट विंगर रोशनले हिमालयन शेर्पाविरुद्ध पनि गोल गरेका थिए।

मनाङको दोस्रो गोल सायिदजामोल डाभ्लाट्जोनोभले गरे। ६६ औँ मिनेटमा भिसोन गुरुङको स्थानमा मैदान प्रवेश गरेका उज्वेक फरवार्डले तीन मिनेटपछि पेनाल्टीमा गोल गर्न सफल भए। बल लिएर एनआरटीको बक्सभित्र प्रवेश गर्दै गरेका डाभ्लाट्जोनोभलाई गौरव श्रेष्ठले लडाएका थिए। यसअघि संकटासँगको खेलमा निर्णायक गोल गरेका डाभ्लाट्जोनोभ पेनाल्टीमा चुकेनन्।

निर्धारित समय सकिनै लाग्दा मनाङले खेल ३-० को स्थितिमा पुर्‍यायो। मनाङबाट पहिलो खेल खेलिरहेका कोफी टिमोथी कौडोले एकल प्रयासमा गोल गरे। राइट विंगमा पाएको बल लिएर एनआरटीको १८ यार्ड बक्सभित्र पस्दा उनले तीन विपक्षी खेलाडीलाई ‘बिट’ गरेका थिए।

आतिरिक्त समयमा एनआरटीका अशोक थापाले गोल अन्तर घटाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका अशोकलाई गोलकर्ता बनाउन गौरवले क्रस उपलब्ध गराएका थिए। त्यसमा अशोकले हेडर गोल गरे।

‘महत्त्वपूर्ण तीन अंक बटुल्यौँ। यसकारण खुसी नहुने कुरै भएन। यो जितले हामीलाई दबाबमुक्त बनाएको छ। खेलाडीहरू रमाउँदै खेलिरहेका छन्। मुख्य कुरा त उनीहरूले टिमको रणनीति बुझेका छन्,’ मुख्य प्रशिक्षक किरणको प्रतिक्रिया थियो।

किरणले कौडोको उपस्थितिले मनाङलाई केही हदसम्म शारीरिक रुपमा बलियो बनाएको बताए। ‘हामीसँग भएका धेरैजसो खेलाडी होचा छन्। यसकारण कौडोको उपस्थितिले हाम्रो अग्रपंक्ति शारीरिक रुपमा बलियो भएको छ। उनीसँग बल होल्ड गर्ने क्षमता छ। बलिष्ठ छन्,’ गोलकर्ता अफ्रिकी स्ट्राइकरबारे किरणको भनाइ थियो।

किरणका अनुसार कौडो मनाङका लागि पहिलो रोजाइका खेलाडी थिएनन्। तर लक्षित खेलाडीलाई ल्याउन नसकिएपछि कौडोलाई अनुबन्ध गरिएको हो। किरणले अर्का गोलकर्ता डाभ्लाट्जोनोभ पूर्णरुपमा फिट नभएको र उनलाई विस्तारै पूर्ण रुपमा ‘म्याच फिट’ बनाउने प्रयास गरिरहेको बताए।

‘उनी कस्ता र कुन स्तरको खेलाडी हुन् भनेर मैले भनिसकेको छु। ५० प्रतिशत फिट हुँदा पनि यस्तो खेलिरहेका छन्। १८ यार्ड बक्सभित्र उनको उपस्थिति टिमका लागि निर्णायक हुन्छ,’ किरणले भने।

चारमध्ये तीन खेल हारेको एनआरटी अंक तालिकाको १३ औँ स्थानमा छ। एक अंक बटुलेको एनआरटीभन्दा नेपाल पलिस क्लब तल छ। पुछारको पुलिस १४ क्लबसम्मिलित लिगमा अंकविहीन छ। गत आइतबार त्रिभुवन आर्मी क्लबसँग ३-३ को बराबरी खेलेको एनआरटी पहिलो खेलमा सातदोबाटो र दोस्रो खेलमा जावलाखेल युथ क्लबसँग समान २–१ ले पराजित भएको थियो।

‘पाएका मौकामा गोल नै गर्न सकिएन। पहिलो हाफमा रोहन (खड्गी) ले गोल गर्न सकेको भए खेल फरक हुन्थ्यो। दोस्रो हाफको सुरुमै हामीसँग खेल परिवर्तन गर्ने अवसर थियो। दिपेश (आले मगर) को प्रयास सफल भएन,’ एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने।

पहिलो हाफको ३२ औँ मिनेटमा रोहनले गरेको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले राम्रोसँग रोक्न सकेनन्। उनले फुत्काएको बल मनाङका मिडफिल्डर डियावान्डौ नियाङ डियाग्नेले क्लियर गरेका थिए।

दोस्रो हाफ सुरु भएको तीन मिनेटपछि नै एनआरटीले बराबरी गोल गर्ने अवसर गुमाएको थियो। कसैको निगरानीमा नरहेका दिपेशले कृतिस रत्न छुन्जुको कर्नरबाट आएको बललाई ‘ट्याप इन’ गरेका थिए। तर बल बारमाथिबाट बाहिरियो।

तीन खेलमा पराजय भोगे पनि निराश नभइसकेको राजुकाजीको भनाइ थियो। ‘अझै धेरै खेल बाँकी छ। हामी शीर्ष ६ मा पर्ने लक्ष्यबाट पछि हटेका छैनौँ। अबका खेलमा धेरैभन्दा धेरै अंक बटुल्ने लक्ष्य छ। योबाहेक अरु विकल्प हामीसँग छैन,’ राजुकाजीले भने।

पाँचौँ चरणमा एनआरटीले चैत ४ गते संघर्षरत पुलिसको सामना गर्ने तालिका छ। सबै खेल हारेको पुलिससँगको खेल एनआरटीका लागि रेलिगेसन क्षेत्रबाट उम्किने मौका हुनसक्छ। एनआरटीभन्दा एक स्थानमाथि रहेको मछिन्द्र भने चर्च ब्वाइजसँग भिड्नेछ। चैत ३ गते हुने यो खेलको नतिजाले रेलिगेसन क्षेत्रको समीकरण बदल्न सक्छ। उता मनाङको भेट भने नेपाल एपीएफ क्लबसँग हुनेछ।

बिहीबारको खेल :
खुमलटार युथ क्लबविरुद्ध सातदोबाटो युथ क्लब, २ः३०, च्यासल रंगशाला
हिमालयन शेर्पा क्लबविरुद्ध संकटा क्लब, २ः३० बजे, एन्फा कम्प्लेक्स


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =