काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेका छन्। उनले सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएपछि नेपालको तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्।
नेपालको संविधानअनुसार राष्ट्रपति पद कार्यकारी अधिकार नभएको सर्वोच्च आलंकारिक पद हो। देशको अभिभावक राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ। पौडेलले अघिल्ला दुई राष्ट्रपतिभन्दा केही फरक विशेषतासहित मुलुकको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका छन्। ती विशेषता यस्ता छन् :
नागरिकबाट राष्ट्रप्रमुख बन्ने तेस्रा व्यक्ति
रामचन्द्र पौडेल नागरिकबाट राष्ट्रप्रमुख बन्ने तेस्रा व्यक्ति हुन्। नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने उनी दोस्रो राष्ट्रपति हुन्। विद्यादेवी भण्डारी लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपछि निर्वाचित हुने पहिलो राष्ट्रपति हुन्। यस्तै डा. रामवरण यादव पहिलो राष्ट्रपति हुन्। उनी अन्तरिम संविधानअनुसार राष्ट्रपति चुनिएका थिए।
दम्पती पहिलोपटक शीतल निवासमा
रामचन्द्र पौडेल दम्पतीसहित शीतल निवास प्रवेश गर्ने पहिलो राष्ट्रपति बनेका छन्। राष्ट्रपतिमा निर्वाचित पौडेल सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्नी सबिता पौडेलका साथ शीतल निवास प्रवेश गरेका हुन्।
पहिलो राष्ट्रपति डा. रामवरण यादव एक्लै शीतल निवास प्रवेश गरेका थिए। यादव एकल पुरुष हुन्। उनकी पत्नी जुलेखा यादवको सन् १९८३ मा निधन भएको थियो। दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीकी पत्नी हुन्। २०५० जेठमा चितवनको दासढुंगामा भएको सडक दुर्घटनामा मदन भण्डारीको निधन भएको थियो।
कामु प्रधानन्यायाधीशबाट शपथ
रामचन्द्र पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट राष्ट्रपति पदको शपथ लिएका छन्। दुई कार्यकाल निरन्तर राष्ट्रप्रमुख बनेकी पहिलो महिला राष्ट्रप्रमुख विद्यादेवी भण्डारीलाई पहिलोपटक २०७२ कात्तिकमा तत्कालीन प्रधान्यायाधीश कल्याण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
भण्डारीले दोस्रो कार्यकालमा २०७४ फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। यस्तै रामवरण यादवले तत्कालीन प्रधानन्यायाधीश केदारप्रसाद गिरीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालेका थिए।
कांग्रेसबाट दोस्रो राष्ट्रपति
पौडेल झन्डै ६ दशकदेखि कांग्रेस राजनीतिमा संलग्न रहँदै आएका थिए। विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका उनी कांग्रेस केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिसमेत बनेका थिए। उनी कांग्रेसबाटै मन्त्री, सभामुख र उपप्रधानमन्त्री बनेका थिए। कांग्रेसबाटै राष्ट्रपतिमा सिफारिस भई निर्वाचित भएका उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन्।
नेपालमा गणतन्त्र घोषणा भएपछि राष्ट्रपति बनेका डा. रामवरण यादव पनि कांग्रेस पृष्ठभूमिकै हुन्। कांग्रेस केन्द्रीय सदस्य हुँदै महामन्त्रीसमेत बनेका यादव कांग्रेसबाटै स्वास्थ्यमन्त्रीसमेत भएका थिए।
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पृष्ठभूमिकी हुन्। विद्यार्थीकालबाटै वामपन्थी राजनीतिमा सक्रिय भण्डारी एमालेबाट पटकपटक सांसद निर्वाचित भएकी थिइन् भने उनले एमालेबाटै जनसंख्या तथा वातावरण, रक्षाजस्ता मन्त्रालयको नेतृत्व सम्हालेकी थिइन्।
खस पुरुष समुदायबाट पहिलो राष्ट्रप्रमुख
रामचन्द्र पौडेल नेपालको आधुनिक राजनीतिक इतिहासमा खसआर्य पुरुषबाट राष्ट्रप्रमुख बन्ने पहिलो व्यक्ति बनेका छन्। तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेल ब्राह्मण समुदायबाट राष्ट्रप्रमुख बनेका हुन्। पहिलो राष्ट्रपति राममरण यादव मधेशी समुदायका हुन् भने विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रप्रमुख हुन्। २४० वर्षभन्दा बढी लामो समयसम्म नेपालको राष्ट्रप्रमुख बनेका शाहवंशीय राजाहरू खस आर्य क्षत्री समुदायका थिए।
सबैभन्दा बढी जेलजीवन
रामचन्द्र पौडेल अन्य दुई राष्ट्रपतिभन्दा बढी समय जेलजीवन बिताएका नेता हुन्। विद्यार्थी जीवनदेखि राजनीतिमा संलग्न उनी १५ वर्ष जेल बसेका थिए। प्रथम राष्ट्रपति रामवरण यादव चिकित्सा पेसाबाट राजनीतिमा लागेका व्यक्ति हुन्। उनी २०४६ सालको आन्दोलन अगाडि नौ महिना जेल बसेका थिए।
यस्तै प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी विद्यार्थीकादेखि राजनीतिमा संलग्न भएकी थिइन्। उनी आन्दोलनका क्रममा पटकपटक पक्राउ परे पनि जेलमा भने परेकी थिइनन्।
धेरैपल्ट सांसद निर्वाचित
रामचन्द्र पौडेल अघिल्ला दुई राष्ट्रपतिभन्दा धेरैपटक जनप्रतिनिधि बनेका व्यक्ति हुन्। उनी २०४७ पछिका आमनिर्वाचनमा तनहुँबाट ६ पटक निर्वाचित भए। २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ मा निर्वाचिन पौडेल २०७४ मा भने पराजित भएका थिए।
मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको २०५० सालको उपनिर्वाचन काठमाडौँ १ बाट विजयी विद्यादेवी भण्डारी २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भएकी थिइन्। रामवरण यादव भने २०४७, २०५१, २०५६ र २०६४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनी सांसदमा विजयी भएका थिए।
गण्डकीको प्रतिनिधित्व गर्दै शीतल निवासमा
रामचन्द्र पौडेल २०४८ सालदेखि २०७९ सालसम्मको निर्वाचनमा गण्डकीबाट प्रतिनिधित्व गर्दै आएका छन्। तनहुँ उनको गृहजिल्ला संघीयता लागू हुनुअघि गण्डकी अञ्चलमा पर्दथ्यो भने संघीयतापछि गण्डकी प्रदेशमा परेको छ। प्रदेशले राष्ट्रको अभिभावक पाएपछि गण्डकीवासीमा खुसीयाली छाएको छ। अघिल्ला दुई राष्ट्रपतिमध्ये भण्डारी कोशी प्रदेश अर्थात् भोजपुरकी हुन् भने यादव मधेश प्रदेशको धनुषाका हुन्।
संस्कृतका विद्यार्थी
रामचन्द्र पौडेलको विद्यालय शिक्षा रानीपोखरीस्थि संस्कृत माध्यमिक विद्यालयमा भएको थियो। उनले संस्कृतमै स्नातक (शास्त्री) सम्मको अध्ययन गरेका थिए। पौडेलले स्नातकोत्तर भने नेपाली साहित्यमा गरेका छन्। पौडेलले जयतु संस्कृतम् आन्दोलनमा पनि सहभागी भएर विद्यार्थी अधिकारका पक्षमा आवाज उठाएका थिए।
प्रथम राष्ट्रपति रामवरण यादव विज्ञानका विद्यार्थी हुन्। चिकित्सा क्षेत्रमा उच्च अध्ययन गरेका यादव पेसाले चिकित्सक पनि हुन्। दोस्री राष्ट्रपति मानविकीकी विद्यार्थी हुन्। उनले भोजपुर बहुमुखी क्याम्पस र महेन्द्र मोरङ क्याम्पसबाट उच्चशिक्षा हासिल गरेकी छन्।
पाको उमेरका राष्ट्रपति
रामचन्द्र पौडेल ७८ वर्षको उमेरमा राष्ट्रपति पदमा बहाली भएका छन्। पौडेलको जन्म २००१ सालमा भएको हो। पहिलो राष्ट्रपति रामवरण यादवले राष्ट्रपति पदको जिम्मेवारी सम्हाल्दा ६१ वर्षका थिए। २०६५ मा राष्ट्रपति भएका उनको जन्म २००४ सालमा भएको थियो। यस्तै पहिलोपटक राष्ट्रपति हुँदा विद्यादेवी भण्डारीको उमेर ५४ वर्षको थियो। उनको जन्म २०१८ सालमा भएको हो।
एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल गत शनिबार राष्ट्रपति छानिएका थिए। मतदानमा ३३१ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए। पौडेलले नेम्बाङभन्दा दोब्बर बढी मत प्राप्त गरेर राष्ट्रपति निर्वाचित भएका हुन्। २१४ जना संघीय सांसद्ले पौडेललाई १६,९०६ मत दिएका थिए। एक जना संघीय सांसदको मतभार ७९ कायम छ। त्यस्तै पौडेललाई ३५२ जना प्रदेशसभा सदस्यहरूले १८,८९६ मत दिए। प्रदेशसभा सदस्यको मतभार ४८ कायम गरिएको छ।
यसरी पौडेलले संघीय सांसद र प्रदेशसभा सदस्य गरी कुल ३३,८०२ मत प्राप्त गरेका थिए। राष्ट्रपतिमा निर्वाचित हुन २६, ३१५ मत आवश्यक थियो। नेम्बाङलाई भने संघीय संसद्का ९८ जनाले ७,७४२ मत दिएका। यस्तै उनलाई प्रदेशतर्फ १६२ सांसदले ७,७७६ मत दिएका थिए। नेम्बाङले कुल १५,५१८ मत प्राप्त गरेका थिए।