काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ। त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपराह्न १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाइएको हो।
कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो। कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।
स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ। शनिबार समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने काम भएको थियो। तर, उपत्यका र उपत्यका बाहिर ७–७ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।
उपत्यकाभित्र पाटन, नेपाल कमर्स, त्रिचन्द्र, सरस्वती, आयुर्वेद, आरआर, विश्व भाषा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ। त्रिचन्द्र र आयुर्वेद क्याम्पसमा भर्नाको समय सकेपछि नयाँ भर्ना लिएको भन्दै एक सातादेखि विवाद छ। विवादका कारण निर्वाचनको कुनै पनि काम अघि बढ्न सकेको छैन । सरस्वती, आरआर, पाटनमा विद्यार्थी संगठनबीच आपसी द्वन्द्वको कारण समस्या देखिएको छ।