
काठमाडौँ- बाल गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण आज (शुक्रबार) देखि सुरु हुने भएको छ। निर्माण टिमले बिहीबार काठमाडौँस्थित वान सिनेमाजमा प्रिमियर शो गर्दै यसबारे जानकारी दिएको हो।
कार्यक्रम हिमालय टेलिभिजनमा राति ८ बजेदेखि प्रसारण हुनेछ। प्रत्येक हप्ताको २ दिन शुक्रबार र शनिबार शो प्रसारण हुने आयोजकले जनाएको छ।
पहिलो सिजनका निर्णायक राजु लामा शोबाट बाहिरिएका छन् भने उनको स्थानमा गायक सुशान्त केसी भित्रिएका छन्। उनीसहित अन्यमा प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहनेछन्।
प्रतियोगितामा ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरू सहभागी छन्। लक्ष्मण पौडेलको निर्देशन रहेको शोको प्रस्तोता सुशील नेपाल हुन्।
द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि टिम प्रमोदका जेनिश उप्रेतीले जितेका थिए।