
काठमाडौँ- स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी औपचारिकरूपमा होमिएको छ।
स्ववियु जित्नका लागि समाजवादीले विभिन्न समिति गठन गरेको छ। पार्टीका नवप्रवेशी नेता घनश्याम भुसालको संयोजकत्वमा मूल संयोजन तथा वार्ता समिति गठन गरेको छ। यसमा पार्टीले घनश्याम भुसाल संयोजक रहेको ११ सदस्यीय स्ववियु निर्वाचन संयोजन तथा वार्ता समिति गरेको छ ।
यसको सदस्यहरूमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम रहेका छन् ।
पार्टीले रामकुमार भट्टराई संयोजक रहेको ६३ सदस्यीय परिचालन समिति पनि गठन गरेको छ । त्यस्तै, पीताम्बर तिमिल्सिनाको संयोजकत्वमा १ हजार १ सय सदस्य रहेको स्वयंसेवक परिचालन समिति पनि गठन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विद्यालयमा आगामी चैत ३, ५ र ८ गते निर्वाचन हुँदैछ ।