काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना हुने बताएका छन्। ठूला भनिने नेताहरू राष्ट्रदोहन र नीतिगत भ्रष्टाचार संलग्न रहेका भन्दै उनले अवस्थाले व्यवस्था परिवर्तन गर्ने बताएका हुन्।
पूर्वराष्ट्र प्रमुख र पूर्वप्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको थापाको भनाइ थियो। बुधबार काठमाडौँमा आफ्नो पार्टीमा आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलामा थापाले राजाको मायाले नभई अहिलेको जस्तो भद्रगोल व्यवस्थाले गणतन्त्रकै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने बताए। थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक रहेको दाबी गर्दै उनले अहिलेको देशको अवस्थाले व्यवस्था परिवर्तन हुनसक्ने बताए।
ठूला भनिने दलका नेता आफ लाई गणतन्त्रका संवाहक ठान्दै आएको भन्दै उनले ती ठूला भन्नेहरू नसच्चिए दुर्घटनाको सम्भावना रहेको औंल्याए। ‘गरिब जनता सिटामोल खान सक्ने अवस्थामा छैनन्। ठूला नेताहरू ब्रम्हलुटमा लिप्त छन्,’ उनले भने, ‘यो दुर्घटनाको संकेत हो। भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तनले आक्रान्त जनता नांगो ब्रम्हलुटबाट आजित छन्।’ भ्रष्टाचार र संघीयताको भारले मुलुक कंगाल भएको उनको भनाइ थियो।