राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

हिमाल प्रेस १६ फागुन २०७९ २०:३७ | Tuesday, February 28, 2023
राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशित राष्ट्रपति पदका दुई उम्मेदवार

काठमाडौँ- राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा २३ अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका सुवाचन्द्र नेम्बाङको नाम प्रकाशन गरेको हो। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ।

मंगलबार उम्मेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका थियो। तर कुनै पनि उम्मेदवारले नाम फिर्ता लिएनन्। उम्मेदवारमध्ये नेम्बाङ नेकपा एमालेका एक्ला उम्मेदवार हुन् भने पौडेललाई विभिन्न आठ वटा दलले समर्थन गरेका छन्।

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तर्फबाट साझा उम्मेदवार बनेका हुन्। पौडेलको प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई, जनमत पार्टीका अब्दुल खान छन्।

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्य्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे छन्।

नेम्बाङको प्रस्तावक र समर्थकमा ५–५ जना रहेका छन्। प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक छन्। यस्तै समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्।

प्रकाशित: १६ फागुन २०७९ २०:३७ | Tuesday, February 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast