काठमाडौँ- बेलायतमा अहिले कयौँ वस्तुको अभाव छ। जस्तै, टमाटर। अनि मरिच, खुर्सानी पनि। भान्सामा चाहिने यी वस्तुबाहेक अभाव अर्को कुराको पनि छ। त्यो हो, गोलकर्ता।
अभावको कारण हो, इंग्लिस फुटबलमा आपूर्ति व्यवस्था कमजोर हुनु। तब त एभरटन, बर्नमाउथ र साउथह्याम्पटन जस्ता क्लबले बजारमा गोलकर्ता नै भेटेका छैनन्। निरन्तर गोल गर्नसक्ने गोलकर्ताको अभाव एभरटनमा प्रस्ट देखिएको छ।
जसकारण एभरटनले २४ खेलमा गरेको गोल संख्या १७ मात्र छ। जुन यो सिजन प्रिमियर लिगमा कुनै पनि क्लबले गरेको सबैभन्दा कम गोल हो। साउथह्याम्पटनले एभरटनभन्दा दुई र बर्नमाउथले पाँच गोल बढी गरेका छन्। पर्याप्त गोल गर्न नसकिरहेकै कारण यी तीन टिम हाल रेलिगेसन क्षेत्रमा छन्।
प्रिमियर लिगका २० क्लबमध्ये सात क्लबसँग यस्ता खेलाडी छन्, जसले १० वा बढी गोल गरेका छन्। ती खेलाडीमध्ये चार जनालाई मात्र सेन्ट्रल स्ट्राइकर मान्न सकिन्छ। जो हुन्, एर्लिङ हालान्ड, ह्यारी केन, इभान टोनी र अलेक्जान्डर मिट्रोभिच।
सेन्ट्रल स्ट्राइकरको प्राथमिक काम जसरी भए पनि गोल गर्नु हो। विपक्षीको ६ यार्ड बक्सभित्र मजबुत प्रदर्शन गर्ने यस्ता खेलाडीको किन अभाव भयो? वा आधुनिक प्रशिक्षकको सेन्ट्रल स्ट्राइकरसँग मोह किन र कसरी भंग भयो?
अब एकपल्ट सन् १९९२ तिर फर्कौँ। प्रिमियर लिग सुरु हुनुअघिको त्यो वर्ष, सबै क्लबसँग स्ट्राइकर थिए। जो हरेक खेलमा गोल गर्ने प्रयास गर्थे। त्यो सिजन उच्च गोलकर्ताको सूचीको पहिलो र दोस्रो स्थानमा इयान राइट अनि ग्यारी लिनेकर रहे। क्रिस्टल प्यालेस र आर्सनलबाट आधा–आधा सिजन खेलेका राइटले २९ गोल गर्दा लिनेकरले टोटनहमका लागि २८ गोल गरे।
लिड्स च्याम्पियन बनेको त्यो सिजन ३० भन्दा बढी खेलाडीले १० वा बढी गोल गर्न सके। कतिसम्म भने रेलिगेसनमा परेको लुटन टाउनका मिक हार्फोर्डले म्यानचेस्टर युनाइटेडका उच्च गोलकर्ता मार्क ह्युजभन्दा बढी गोल गरे।
त्यस्ता दिन अब रहेनन्। हुन त स्ट्राइकरको खडेरी प्रिमियर लिग मात्र होइन अरु लिगले पनि सामना गरिरहेका छन्। स्ट्राइकरको खडेरी हुन थालेको अनुभव आर्सन वेंगरले सन् २०१५ मै गरेका थिए। त्यसबेला उनी बारम्बार भन्थे, युरोपले स्ट्राइकर उत्पादन गर्न छाड्यो। युरोपेली फुटबल महासंघ (यूईएफए) डाक्ने बैठकमा पनि उनले यो विषय कयौँ पटक उठाए।
समग्र युरोपेली फुटबलमा सेन्ट्रल स्ट्राइकर कता हराए? कि हराउन बाध्य बनाइयो? दोस्रो प्रश्नको जवाफ सायद पेप ग्वार्डिओलाको सफलतासँग पनि जोडिन्छ। स्पेनका ग्वार्डिओलाले ठूला लिगका ठूला क्लबलाई सफल बनाउँदा बढीजसो फल्स नाइन र वाइड स्ट्राइकरको प्रयोग गरे।
आखिरमा चलन त्यही बस्यो, अरु प्रशिक्षकले पनि ग्वार्डिओलाकै शैली पछ्याउँदै गए। फलतः सेन्ट्रल स्ट्राइकरको अस्तित्व नै संकटमा पर्ने स्थिति सिर्जना भयो।
अहिले यस्तो समय आएको छ, जहाँ आक्रामक खेलाडीको मूल्यांकन बक्सभित्र होइन बक्सबाहिरको सक्रियताको आधारमा गरिन्छ। प्रिमियर लिगका सुरुवाती सिजनमा चम्किएका मिकी किन वा टोनी कोटी आजको दिनमा पनि सक्रिय भइरहेको भए, बहस उनीहरु प्रेसिङ गेम खेल्न सक्छन् कि सक्दैनन् भन्ने हुने थियो होला।
प्रिमियर लिगमा दबदबा कायम गरेका जोन फासानु, ली चापमन वा ब्रायन डिन जस्ता सेन्ट्रल स्ट्राइकरले पनि आजका दिनमा मौका नपाउन सक्थे। उनीहरुमाथि गतिशील नभएको आरोप लाग्न सक्थ्यो।
अचेल एकेडेमीदेखि नै फरक खेल स्वाभाव भएका फरवार्ड उत्पादन भइरहेका छन्। आक्रामक खेलाडीको प्रयोगको मामलामा एकेडेमी र सिनियर टिमबीच भिन्नता छैन। इंग्लिस क्लबका एकेडेमीमा हुर्किएका बुकायो साका र मार्कस रासफोर्ड हुन् वा बाहिरबाट ल्याइएका मोहम्मल सलाह, खेल शैली उही छ। विंगबाट बक्सभित्र छिर्ने, विपक्षीको पोस्टमा धावा बोल्ने।
अहिलेको फुटबल पहिलेभन्दा बढी प्राविधिक छ, प्रतिस्पर्धात्मक छ। यो कुरामा असहमति राख्ने ठाउँ छैन। अब प्रश्न उठ्छ, कम बजेट र प्राविधिक रुपमा अब्बल नभएका खेलाडी भएका क्लबले प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधिका लागि प्रतिस्पर्धा गर्ने ठूला र धनी भनिएका क्लब जसरी खेल्ने प्रयास गर्नु सही हो? जबकि उनीहरुको मुख्य उद्देश्य शीर्ष श्रेणीका लिगमा टिक्नु हुन्छ।
अब कुरा केही समयअघि एभरटनको प्रशिक्षक बनेका सन डाइचको। उनले एभरटनको प्रदर्शन सुधार्न पुरानो प्रशिक्षण शैली र खेल रणनीति अपनाउने बताएका छन्। एभरटनसँग भनेजस्तो सेन्ट्रल स्ट्राइकर छैनन्। कुनैबेला त्यहाँ रोमेलु लुकाकु थिए। हाल एभरटनसँग काल्भर्ट लुइन छन्। जसले सन् २०१९/२० र २०२०/२१ सिजनमा १३ तथा १६ लिग गोल गरेका थिए। अहिले त उनी पनि मैदानबाहिर छन्।
एभरटनलाई रेलिगेसनबाट बचाउन नसके डाइचको जागिर स्वतः धरापमा पर्नेछ। एभरटन प्रिमियर लिगमा नटिके, त्यसको एउटा मुख्य कारण सेन्ट्रल स्ट्राइकरको अभावलाई मानिनेछ। सन् २०१८–२० सम्म एभरटनमा लेविनबाहेक रिचारलिसन गोलको स्रोत थिए। वाइड स्ट्राइकर मानिने उनी टोटनहम सरेपछि एभरटनले उनको स्थानमा अर्को गोलकर्ता ल्याउन सकेको छैन। वा ल्याइएका नयाँ खेलाडीले गोलको खडेरी तोड्न सकेका छैनन्।
एभरटनमा निल माउपे पनि छन्। उनी सेन्ट्रल स्ट्राइकर त हुन्, तर ६ यार्ड बक्सभित्र उनी बलियो देखिँदैनन्। फलतः उनी विंगबाट आएका क्रसलाई गोलमा परिणत गर्न संघर्षरत छन्। फुटबलमा एउटा सामान्य तरिका छ, जसको आधारमा सेन्ट्रल स्ट्राइकरको मूल्यांकन गर्न सकिन्छ। त्यो हो, उसको पहिलो टच। अनि बल खोस्न वा नियन्त्रणमा लिन देखाउने प्रतिबद्धता।
गतिला सेन्ट्रल स्ट्राइकरले खराब क्रस वा पासलाई पनि गोलको अवसरमा ढाल्न सक्छन्। तर औसत सेन्ट्रल स्ट्राइकरले भने जतिसुकै राम्रो क्रस वा पास पनि खेर फालिरहेका हुन्छन्। गत शनिबार गुडिसन पार्कमा एभरटन एस्टन भिल्लासँग हार्नुको मुख्य कारण यही थियो, सेन्ट्रल स्ट्राइकरले क्रस र पास खेर फाल्नु।
उता सिटीसँग खराब क्रस र पासलाई पनि गोलको अवसरमा रुपान्तरण गर्ने सेन्ट्रल स्ट्राइकर छन्। हुन त हालान्डको अनुबन्धन ग्वार्डिओला शैलीको विपक्षमा थियो। फल्स नाइन र वाइड स्ट्राइकरलाई पर्याप्त गोल गराउन सक्ने ग्वार्डिओलालाई सेन्ट्रल स्ट्राइकर चाहिएकै थियो? यो प्रश्न अहिले पनि उठिरहेको छ।
इंग्लिस फुटबलले सम्झिरहने स्ट्राइकर हारफोर्डको जस्तो उचाइ, एलन सियरर जत्तिकै बलिया, राइट र लिनेकरको जस्तो तीव्रता र कुशलता भएका हालान्ड सिटीसँग हुँदा अरु क्लब भने उल्लेखित क्षमतामध्ये एउटा मात्र भएका स्ट्राइकरले पनि काम चल्छ भन्ने मनस्थिथितिमा छन्।