प्रज्ञा प्रतिष्ठानका सदस्यहरूको दोहोरो सुविधा कटौती

हिमाल प्रेस १५ फागुन २०७९ १८:०७ | Monday, February 27, 2023
प्रज्ञा प्रतिष्ठानका सदस्यहरूको दोहोरो सुविधा कटौती

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूलाई दिँदै आएको मासिक पारिश्रमिक कटौती गरेको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो।

प्राज्ञहरूबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरूले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताए। दोहोरो सुविधा लिएका आजीवन सदस्यहरूलाई दिइएको पारिश्रमिक रोकेर त्यसबाट बचेको रकम प्राज्ञिक क्षेत्रमा, सिर्जनशील क्षेत्रमा लगानी गर्ने योजना रहेको उनले बताए। प्रतिष्ठानका पदाधिकारीहरूले आफूहरूले पनि राज्यबाट दोहोरो सुविधा नलिने घोषणा गरेका थिए।

नेपाली हुनुको उच्च नैतिकता सिकाउन आफूहरूले नै यस्तो निर्णय लिएको कुलपति राईको भनाइ थियो। ‘अब यो नैतिकतासँग पनि गाँसिएको विषय हो’ उनले भने, ‘दोहोरो सुविधा लिने भन्ने कुरा चाँही जति भेटे पनि जहाँ भेटे पनि खानैपर्ने नेपाली प्रवृत्तिको रूपमा देखा पर्‍यो । यो प्रवृत्ति नैतिकतासँग पनि गाँसिएको विषय हुनाले अब नेपाल प्रज्ञा प्रतिष्ठानले चाँही यही हाम्रो कार्य समितिको समयबाट यो कामको सुरुवात गरौं भन्ने निर्णय गरिएको हो।’

प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृति मात्रै नभएर संस्कारको कुरा पनि रहेको उनको भनाइ थियो। हाल प्रतिष्ठानमा आजीवन सदस्य रहेकाहरूले ५१ हजार ४४७ रुपैयाँ मासिक पारिश्रमिक लिँदै आएका छन्। प्रतिष्ठानबाट वार्षिक करिब १ करोड २० लाख दोहोरो सुविधा लिने गरेकोमा यसलाई कटौती गरेर बचेको बजेटले प्राज्ञिक क्षेत्रमा नै केही गरौं भन्ने भावना रहेको पनि प्रतिष्ठानको भनाइछ।

प्रकाशित: १५ फागुन २०७९ १८:०७ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast