सुवास नेम्बाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति हुन्छ

हिमाल प्रेस १३ फागुन २०७९ १३:५५ | Saturday, February 25, 2023
सुवास नेम्बाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति हुन्छ

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्बाङले आफ्नो नाममा नै राष्ट्रिय सहमति हुने दाबी गरेका छन्। शनिबार राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने बताएका हुन्।

नेम्बाङले आफू संविधानको पूर्ण पालना गर्न कटिबद्ध रहेको भन्दै सबैलाई भोट दिन पनि आग्रह गरे।

‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु। आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो। स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु,’ उनले भने, ‘अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ। व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ। हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भुमिका निर्वाह गरेँ। संविधानको संरक्षक हुने अवसर पाएको छु।’

नेपालको संविधान नेम्बाङ सभामुख हुँदा जारी भएको थियो। उनको उम्मेदवारीको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन्।

उता कांग्रेस,नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएका छन्।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि पौडेल र नेम्बाङको भेट पक्का भएको छ।

प्रकाशित: १३ फागुन २०७९ १३:५५ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast