चुनावअघिको गठबन्धन ब्युँताउने निर्णय भइसकेको छैन : नारायणकाजी श्रेष्ठ 

हिमाल प्रेस ११ फागुन २०७९ १५:०३ | Thursday, February 23, 2023
चुनावअघिको गठबन्धन ब्युँताउने निर्णय भइसकेको छैन : नारायणकाजी श्रेष्ठ  फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चुनावअघिको गठबन्धन ब्युँताउने विषयमा निर्णय भइनसकेको बताएका छन्।   आज बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भएको भेटमा सहभागी नेता श्रेष्ठले यस्तो बताएका हुन्। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने पार्टीको अडान कायमै रहेको भन्दै उनले सबै पार्टीसँग छलफल जारी राख्ने निर्णय भएको बताए।
‘हाम्रो पार्टी माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा अहिलेको राष्ट्रिय राजनीतिक परिस्थिति र मुख्यतः राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा छलफल भयो। अहिलेको छलफल अझै निष्कर्षमा पुगिसकेको छैन। हामी आजै फेरि अर्को बैठक बस्दै छौँ’ उनले भने। उनले अर्को बैठक साँझ ५ बजे बस्ने पनि जानकारी दिए।
‘पुरानो गठबन्धन ब्युँताउने विषयमा त्यस्तो केही पनि सहमति भइसकेको छैन। हामीले अरू शक्तिहरूसँग पनि छलफल जारी राखेका छौँ। त्यसो त हाम्रो पार्टीका अध्यक्ष–नेकपा (एमाले)का अध्यक्ष लगातार छलफलमा हुनुहुन्छ। त्यहाँ पनि टुंगिसकेको स्थिति छैन,’ उनले भने, ‘हामीले नेपाली कांग्रेससँग पनि हिजो छलफल गर्‍यौँ। नेकपा (एकीकत समाजवादी) र जनता समाजवादीसँग पनि छलफल गर्नुपर्छ भनेर त्यही बैठकमा भनेका छौँ । त्यसो त जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा सबै राष्ट्रिय पार्टीहरूसँग छलफल गरेर हामी निष्कर्ष पुग्छौँ।’
प्रकाशित: ११ फागुन २०७९ १५:०३ | Thursday, February 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast