इलाम पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा

हिमाल प्रेस ९ फागुन २०७९ १५:५१ | Tuesday, February 21, 2023
इलाम पाथिभरा मन्दिरको स्वामित्व रोङ गाउँपालिकामा

इलाम- इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ। हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवर्द्धनको जिम्मा गाउँपालिकामा आएको हो।

पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ। उपप्रधानमन्त्री तथा जलस्रोत, सिँचाइ र ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो।

गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ। मन्दिरको विकास, प्रवर्द्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए।

छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो। गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ। बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ।

प्रकाशित: ९ फागुन २०७९ १५:५१ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast