सुरू भयो जनकपुरधाम-अयोध्या रेल (तस्बिरहरू)

हिमाल प्रेस १२ मंसिर २०८३ १४:३६ | Saturday, November 28, 2026
10
SHARES
सुरू भयो जनकपुरधाम-अयोध्या रेल (तस्बिरहरू)

जनकपुरधाम – जनकपुरधाम र भारतको अयोध्याबीच शनिबारदेखि व्यासायिक रूपमा रेल सञ्चालन भएको छ।

जनकपुरधाम र आयोध्याबीच धार्मिक तथा सांस्कृति सम्बन्धलाई बलियो बनाउने उद्देश्यले सुरू गरिएको ‘सरयू-कमला’ एक्सप्रेस रेल शनिबारदेखि सञ्चालनमा आएको हो।

भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपलो जनकपुरधाम-अयोध्या रेलको उद्घाटन गरेका थिए।

उद्घाटन भएकै दिन अध्योबाट प्रस्थान गरेको रेल गत मंगलबार जनकपुरधाम आइपुगेको थियो। यद्यपि ‘सरयू-कमला’ एक्सप्रेस ट्रेनको व्यावसायिक सञ्चालन शनिबारबाट भएको हो।

रेलको व्यावसायिक सञ्चालनको पहिलोदिन जनकपुरधामबाट चार सयभन्दा बढी यात्रु अयोध्याका लागि प्रस्थान गरेको नेपाल रेलवे कम्पनीले जनाएको छ। जनकपुरधाम रेलवे स्टेशनबाट बिहीबारबाट मात्रै टिकट बिक्री सुरू गरिएको थियो।

नेपाल रेलवेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले चार सयबढी यात्रु जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको जानकारी दिए। जनकपुरधाम स्टेशनको काउन्टरबाट एक दिनमात्र टिकट बिक्री गर्न पाउँदा पनि चार सय बढी यात्रु अयोध्या जानुले आफूहरू उत्साहित रहेको उनले बताए।

‘बिहीबार अपराह्नबाट मात्रै जनकपुरधामको काउन्टरबाट टिकट बिक्री सुरू गर्न पायौँ,’ पराजुलीले भने,‘शुक्रबार अबेर राति १२ बजेसम्म टिकट लिनेको भीडभाड थियो। एक दिनमै चार सय जना यात्रुले टिकट लिनुभयो, हामी उत्साहित छौँ।’

भारतीय रेलवेको टिकट बुकिङसम्बन्धी वेबसाइट आईआरसीटीसीका साथै जनकपुरधामको रेलवे स्टेशनबाट सोझै टिकट बिक्रीको व्यवस्था हुँदा यात्रुहरूलाई टिकट काट्न सहज भएको छ।

पहिलोपटक अयोध्या जान लागेका बारा निजगढका दिपक खड्का जनकपुरधामबाटै रेल सञ्चालन भएपछि धेरै सहज भएको बताए।

‘हिजो साँझ जनकपुर आयौँ, बिहान जानकी मन्दिरमा दर्शन गरेर अब रामजीको दर्शन गर्न अयोध्या जाँदैछौँ,’ स्टेशनमा रेल कुरिरहेका खड्का दम्पतीले भने,‘काउन्टरबाटै टिकट किन्न पाउँदा सजिलो भएछ। भारतबाट टिकट खरिद खर्दा एक दुई महिनाअगावै लिनुपर्ने हुन्छ। जनकपुरधामबाटै काट्न पाएपछि सहज भएको छ।’

जनकपुरधाम रेलवे स्टेशनमा अयोध्या जाने रेल कुरेर बसिरहेका खड्का दम्पती

अयोध्या रेल सञ्चालन हुने भएपछि जनकपुरधाम रेलवे स्टेशनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। रेल समाउन आउने प्रत्येक यात्रुको टिकटका साथै सामान सशस्त्र प्रहरीले कडाका साथ जाँच गर्ने गरेका छन्।

सुरक्षा जाँच गर्दै सशस्त्र प्रहरी बल

नेपालतर्फ रेलवेको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको प्रबन्धक पराजुलीले बताए। उनले सुरक्षा जाँचका लागि एक्स-रे मेसिन आवश्यक रहेको बताउँदै चाँडै व्यवस्था गरिने उल्लेख गरे।

१७ बोगीको रेल भएकोले सम्बन्धीत कोच खोज्न यात्रुहरू अलमलमा देखिएका थिए। जनकपुरधाम रेलवे स्टेशनको प्लेटफर्ममा रेलको कुन बोगी कहाँ लाग्ने भन्ने उल्लेख नहुँदा यात्रुहरू अन्योलमा देखिन्थे।

प्रबन्धक पराजुली पहिलोदिन देखिएका त्रुटि तथा समस्याहरू विश्लेषण गरी चाँडै समाधान गर्ने बताए।

दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरेको रेल आइतबार बिहान ९ बजेतर्फ अयोध्या प्रस्थान गर्नेछ। साप्ताहिक रूपमा सञ्चालन हुने यो रेल सोमबार भारतीय समयअनुसार ५ः५० मिनेटमा अयोध्याबाट जनकपुरधामका लागि छुट्नेछ।

भारतीय रेलवेले ‘सरयू-कमला’ एक्सप्रेसका लागि चार श्रेणीमा भाडादर निर्धारण गरेको छ। स्लिपर श्रेणीको भाडा ३६५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै ‘एसी थ्री टियर इकोनोमी’ को ८८५ रुपैयाँ, ‘एसी थ्री टियर’ को ९६५ र ‘एसी टु टियर’ को भाडा १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ।

यो रेलमा यात्रा गर्ने नेपाली तथा भारतीय यात्रुसँग परिचय खुल्ने वैध परिचयपत्र हुनुपर्छ। साथै टिकटमा उल्लेखित परिचयपत्रको विवरण जयनगरमा देखाइने परिचयपत्रसँग मेल खानुपर्ने हुन्छ।

रेलमा यात्रा गर्ने नेपाली नागरिकका लागि नागरिकताको प्रमाणपत्र वा राहदानी मान्य हुनेछन्। त्यस्तै भारतीय नागरिकले राहदानी वा मतदाता परिचयपत्र साथमा राख्नुपर्ने हुन्छ। १५ वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि मात्र आधारकार्ड मान्य हुने बताइएको छ।

‘सरयू(कमला’ एक्सप्रेस आधुनिक ‘एलएचबी’ श्रेणीका १७ डिब्बा भएको रेलका रूपमा सञ्चालन हुनेछ। यसमा दुईवटा ‘एसी टु-टायर’ का डिब्बा हुनेछ।

त्यस्तै तीनवटा ‘एसी थ्री टायर’ र तीनवटा ‘एसी थ्री टायर इकोनोमी’ का डिब्बा हुनेछ। सातवटा स्लिपर क्लास, एउटा लगेज डिब्बा र एक पावर कार हुनेछ।

यो रेलमा साधारण (जनलर) डिब्बा र फर्स्ट एसी छैन। प्रत्येक यात्रुका लागि आरक्षित वर्थ (सिट) अनिवार्य छ। भारतीय रेलवेको एसी श्रेणीहरुमा ओढ्ने-ओछ्याउने सामग्री उपलब्ध गराइन्छ। स्लिपरमा भने यो सेवा उपलब्ध हुँदैन।

प्रकाशित: १२ मंसिर २०८३ १४:३६ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast