काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ।
क्यान्डिडेट क्लब समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो। समितिमा डा.नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्य रहेका छन्।
समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ।
बैठकले उम्मेदवारका आकांक्षी तथा आवेदकहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने निर्णयसमेत भएको छ।
उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबीविरोध सम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।
रास्वपाले यी प्रक्रियामार्फत आगामी स्थानीय तह निर्वाचनका लागि योग्य, सक्षम र जनप्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्न सक्ने उम्मेदवार छनोट गर्ने तयारी गरेको छ।



