काठमाडौँ- जाजरकोटको शिवालय गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई स्थानीय भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।
गाउँपालिकाको कार्यालयले मंसिर ८ गते जारी गरेको पत्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा भुक्तानी गरिएको सम्पूर्ण स्थानीय भत्ता र चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म प्राप्त गरेको स्थानीय भत्तासमेत फिर्ता गर्न शिक्षकलाई निर्देशन दिएको हो।
गाउँपालिकाका अनुसार अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा शिक्षकलाई भुक्तानी गरिएको स्थानीय भत्ता असुल गर्नुपर्ने व्यहोरा औँल्याइएको छ।
सोही प्रतिवेदनका आधारमा सम्बन्धित शिक्षकलाई पत्रको मितिले सात दिनभित्र आफूले प्राप्त गरेको स्थानीय भत्ता तोकिएको राजस्व खातामा दाखिला गर्न भनिएको छ।
गाउँपालिकाले शिक्षकलाई राजस्व शाखामा सम्पर्क गरी तोकिएको खातामा रकम जम्मा गर्न र त्यसको भौचर गाउँपालिकाको लेखा शाखामा पेस गर्न अनुरोध गरेको छ। दाखिला गर्नुपर्ने रकमको विस्तृत विवरण तथा अन्य जानकारीका लागि शिक्षा शाखामा सम्पर्क गर्नसमेत पत्रमा उल्लेख गरिएको छ।
त्यसैगरी, अर्को व्यवस्था नभएसम्म शिक्षकलाई स्थानीय भत्ता भुक्तानी नगर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीद्वारा हस्ताक्षरित पत्रमा लेखापरीक्षणबाट औँल्याइएको बेरुजु तथा असुल गर्नुपर्ने रकमको विषयलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ।



