कहिले फर्किन्छन् चीन गएका रास्वपाका २० सांसद?

हिमाल प्रेस १० मंसिर २०८३ १८:४५ | Thursday, November 26, 2026
कहिले फर्किन्छन् चीन गएका रास्वपाका २० सांसद?

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २० सदस्यीय प्रतिनिधिमण्डल बिहीबार साँझ स्वदेश फर्कँदै छ।

पार्टी महामन्त्री एवं सांसद विपिनकुमार आचार्यको नेतृत्वमा गएको टोली १२ दिने चीन भ्रमण सकेर आज राति १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

रास्वपाले दिएको जानकारीअनुसार प्रतिनिधिमण्डल चाइना सदर्न एयरलाइन्सको विमानबाट राति १०:३० बजे काठमाडौँ आइपुग्नेछ। स्वदेश फर्कने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ। भ्रमणका उपलब्धिबारे पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रियासमेत गरिने जनाइएको छ।

चीन भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले छेन्दु, हाङझाउ, यीउ र बेइजिङलगायतका स्थानमा भ्रमण तथा छलफल गरेको थियो। टोलीले चिनियाँ अधिकारी, राजनीतिक नेतृत्व, उद्योगी, व्यवसायी, विश्वविद्यालय तथा विभिन्न संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गरेको थियो।

भ्रमणका क्रममा नेपाल-चीन सम्बन्ध, आर्थिक सहकार्य, लगानीका सम्भावना, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच, पर्यटन, ऊर्जा, पूर्वाधार, प्रविधि, युवा सीप विकास र विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको बताइएको छ।

त्यस्तै, चीनको वेनचुआन क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण, बस्ती पुनःस्थापना तथा विपद् व्यवस्थापनका अभ्यासबारे टोलीले स्थलगत अवलोकन गरेको थियो।

औद्योगिक क्षेत्र, प्रविधि कम्पनी, विश्वविद्यालय तथा व्यापारिक केन्द्रहरूको भ्रमणमार्फत चीनको विकास अभ्यासबारे जानकारी लिइएको थियो।

भ्रमणका क्रममा रास्वपा महामन्त्री विपिन आचार्य र चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईबीच करिब डेढ घण्टा उच्चस्तरीय राजनीतिक संवाद भएको थियो। भेटमा दुई पार्टीबीच आपसी समझदारी, राजनीतिक दृष्टिकोण र भविष्यमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ।

भ्रमण टोलीले नेपाल-चीन सहकार्यलाई युवा सीप विकास, नेपाली उत्पादनको बजार विस्तार, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार तथा विपद् व्यवस्थापनका क्षेत्रमा अघि बढाउने विषयमा छलफल गरेको जनाएको छ।

भ्रमणबाट प्राप्त अनुभव र सम्भावनालाई सम्बन्धित निकाय तथा निजी क्षेत्रसँग समन्वय गरी ठोस परिणाममा पुर्‍याउने पहल गरिने टोलीका सदस्यहरूले बताएका छन्।

प्रकाशित: १० मंसिर २०८३ १८:४५ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast