कांग्रेस बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’, सफलताका लागि पार्टी पंक्तिलाई आह्वान

हिमाल प्रेस ९ मंसिर २०८३ १५:०४ | Wednesday, November 25, 2026
कांग्रेस बैठकमा १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’, सफलताका लागि पार्टी पंक्तिलाई आह्वान ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन बुधबार १०औँ राष्ट्रिय खेलकुदको ‘सिग्नेचर गीत’ बजाएर सुरु गरिएको छ। राष्ट्रिय खेलकुदलाई भव्य र सफल बनाउन पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न बैठकले आह्वान गरेको छ।

मंसिर ७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको १०औँ राष्ट्रिय खेलकुदको विधिवत् उद्घाटन मंसिर १६ गते हुने कार्यक्रम छ। प्रतियोगिताको सफलताका लागि कांग्रेसले स्थानीय पार्टी पंक्तिलाई परिचालन गर्न आग्रह गरेको हो।

बैठकमा वक्ताहरूले धारणा राख्ने क्रममा बीचबीचमा बजाइने फिलर धुनमा समेत राष्ट्रिय खेलकुदको सिग्नेचर गीतको मुख्य अंश गुञ्जाइएको थियो। बैठकमा बोल्दै कांग्रेस सभापति गगनकुमार थापाले सात हजारभन्दा बढी खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुदले नेपाली खेलकुदको विकास र विस्तारमा नयाँ ऊर्जा, उत्साह तथा गतिशीलता भर्ने विश्वास व्यक्त गरे।

बैठकले राष्ट्रिय खेल महोत्सवलाई भव्य, सभ्य र अविस्मरणीय बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, खेलप्रेमी समुदाय तथा सम्पूर्ण नेपालीलाई सहयोग र सहभागिताका लागि अपिल गरेको छ।  प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई स्वस्थ प्रतिस्पर्धा र उत्कृष्ट प्रदर्शनका लागि बैठकले शुभकामना व्यक्त गरेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १५:०४ | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast