बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय शिलान्यास गर्न गोरखा जाँदै सभामुख

हिमाल प्रेस ९ मंसिर २०८३ १०:५० | Wednesday, November 25, 2026
बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय शिलान्यास गर्न गोरखा जाँदै सभामुख

काठमाडौँ- लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवन तथा पक्की पुल बुधबार शिलान्यास हुने भएको छ । गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालको प्रमुख आतिथ्यतामा शिलान्यास कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलगायत सहभागी हुनेछन् । शिलान्यासमार्फत परियोजनाको काम सुरु भएको सन्देश दिन खोजिएको छ ।बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण रजौरियाका अनुसार परियोजनाको मुख्य भौतिक निर्माण सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ ।

‘अहिले पक्की पुल र आवास तथा कार्यालय भवनको शिलान्यास गर्न लागेका हौँ,’ उनले भने, ‘यसले परियोजनाको काम सुरु भयो भन्ने सन्देश पनि दिन्छ ।’

लगानी मोडालिटी स्वीकृत, लाइसेन्स अझै बाँकी

ब्याजसहित चार खर्ब ६ अर्ब रुपैयाँ संशोधित लागत अनुमान गरिएको परियोजनाको लगानी मोडालिटी गत १२ फागुन २०८२ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । परियोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपुँजी रहने गरी लगानी मोडालिटी तय गरिएको हो ।

मोडालिटीअनुसार कुल दुई खर्ब ८४ अर्ब ३९ करोड रुपैयाँ ऋण लगानीमध्ये सरकारले सहुलियतपूर्ण कर्जाबापत एक खर्ब ५० अर्ब रुपैयाँ उपलब्ध गराउनेछ । कर्मचारी सञ्चय कोष तथा बैंकलगायत संस्थाबाट एक खर्ब चार अर्ब रुपैयाँ व्यावसायिक कर्जा लिने र ३० अर्ब रुपैयाँको ऊर्जा बन्ड जारी गर्ने योजना छ ।

त्यस्तै, स्वःपुँजीतर्फ सरकारले ९७ अर्ब ४७ करोड र नेपाल विद्युत् प्राधिकरणले २४ अर्ब ३६ करोड रुपैयाँ लगानी गर्ने भनिएको छ । यसअघि सरकारले खर्च गरिसकेको झन्डै ४५ अर्ब रुपैयाँलाई पनि पुँजीमा गणना गरिनेछ । यद्यपि, लगानीका यी स्रोत सुनिश्चित भइसकेका छैनन् ।

लगानी मोडालिटी स्वीकृत भए पनि परियोजनाले अहिलेसम्म विद्युत् उत्पादनको लाइसेन्स पाउन सकेको छैन । लाइसेन्सका लागि कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कुल एक अर्ब २० करोड रुपैयाँ दस्तुर तिर्नुपर्नेमा हालसम्म २० करोड रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

बाँकी एक अर्ब रुपैयाँ सरकारले परियोजनामा गर्ने लगानीमा मिलान गरिदिन कम्पनीले प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिँदा लाइसेन्स प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रकाशित: ९ मंसिर २०८३ १०:५० | Wednesday, November 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast