वैभव सूर्यवंशी : ५३ बलमा दोहोरो शतक लगाएर रचे इतिहास

हिमाल प्रेस ८ मंसिर २०८३ २०:४७ | Tuesday, November 24, 2026
वैभव सूर्यवंशी : ५३ बलमा दोहोरो शतक लगाएर रचे इतिहास

काठमाडौँ – भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीले फेरि एकपटक क्रिकेटको रेकर्ड बुकमा आफ्नो नाम दर्ज गराएका छन्। एसिया कप राइजिङ स्टार्सको खेलमा यूएईविरुद्ध उनले मात्र ५३ बलमा २०४ रन बनाए। यस क्रममा उनले २८ छक्का र सात चौका प्रहार गरे।

वैभवले २८ बलमा आफ्नो शतक पूरा गरे। प्रशंसकहरुले उनको यस उपलब्धिको खुसीयाली मनाइरहँदा नै उनले मात्र ५२ बलमा दोहोरो शतक पनि प्रहार गरे।

उनको आक्रामक इनिङका कारण भारत ‘ए’ ले २५० रनको लक्ष्य मात्र १४.२ ओभरमा पूरा गर्‍यो।

वैभवले सन् २०२४ जनवरीमा फस्र्ट क्लास क्रिकेटमा डेब्यू गरेका थिए। त्यही वर्ष उनले सिनियर घरेलु क्रिकेटमा सेतो बलबाट खेल्न सुरु गरे। सन् २०२६ मा भारतको इंग्ल्यान्ड भ्रमणका क्रममा उनले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाए।मात्र १५ वर्षको उमेरमा वैभवले थुप्रै ठूला कीर्तिमानहरु आफ्नो नाम गरिसकेका छन्।

लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो शतक र दोहोरो शतक

यूएईविरुद्धको एसिया कम राइजिङ स्टार्सको खेलमा वैभव ५३ बलमा २०४ रन बनाएर आउट भए। उनको पारीमा २८ छक्का र सात चौका सामेल छन्।

भारत ‘ए’ ले २५० रनको लक्ष्य मात्र १४.२ ओभरमा हासिल गर्‍यो। यस प्रदर्शनसँगै वैभव लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक, १५० र २०० रन बनाउने ब्याटर बने।

आईपीएलमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक

वैभवले आईपीएलमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन्। उनले १४ वर्ष ३२ दिनको उमेरमा यी दुवै उपलब्धि हासिल गरेका थिए।

वैभवले यी दुवै कीर्तिमान २८ अप्रिल २०२५ मा राजस्थान रोयल्सको तर्फबाट खेल्दै गुजरात टाइटन्सविरुद्ध बनएका थिए। उनले यस खेलमा १७ बलमा आफ्नो अर्धशतक र ३५ बलमा शतक पूरा गरेका थिए।

आईपीएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने सूचीमा उनी दोस्रो स्थानमा छन्। उनीभन्दा छिटो शतक केवल एक ब्याटरले बनाएका छन्। र, ती हुन् वेस्टइन्डिजका क्रिस गेल। गेलले ३० बलमा आईपीएलमा सबैभन्दा छिटो शतक प्रहार गरेका थिए।

लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक

वैभवले २०२५–२६ विजय हजारे ट्रफीको आफ्नो पहिलो खेलमा ८४ बलमा १९० रन बनाएका थिए। यस पारीसँगै उनी लिस्ट ‘ए’ क्रिकेटमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो ब्याटर बनेका थिए। त्यतिबेला उनको उमेर १४ वर्ष २७२ दिन थियो।

उनले मात्र ३६ बलमा आफ्नो शतक पूरा गरेका थिए भने ५९ बलमा १५० रन पनि पूरा गरेका थिए। पुरुषहरुको लिस्ट ‘ए’ क्रिकेटमा १५० रनसम्म यति छिटो कोही पनि पुगेको थिएन।

टी-२० क्रिकेटमा १०० छक्का प्रहार गर्ने सबैभन्दा छिटो ब्याट्सम्यान

१५ वर्षकै उमेरमा वैभवले टी-२० क्रिकेटमा छक्का प्रहार गर्ने मामिलामा रेकर्ड बनाइसकेका छन्। उनले मात्र ५१४ बल र २९ पारीमा १०० छक्का पूरा गरे। उनी टी(२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन्।

पारीको हिसाबले अस्ट्रियाका करणवीर सिंह दोस्रो स्थानमा छन्। उनले ३३ पारीमा यो उपलब्धि हासिल गरेका थिए र यसका लागि ८१३ बल खेलेका थिए। बलको हिसाबले बेल्जियमका साबेर जखील दोस्रो स्थानमा छन्। उनले ६९९ बलमा १०० छक्का पूरा गरेका थिए।

लिस्ट ‘ए’ क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक

जुन २०२६ मा श्रीलंका ुएु विरुद्धको त्रिकोणात्मक सिरिजको फाइनलमा वैभवले मात्र ११ बलमा अर्धशतक पूरा गरेका थिए। यससँगै उनले लिस्ट ुएु क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड आफ्नो नाम गरे। यो रेकर्ड २१ वर्षदेखि कायम थियो।

आईपीएलमा १,००० रन बनाउने सबैभन्दा छिटो ब्याट्सम्यान

टी-२० क्रिकेटमा १,००० रन पूरा गरेको केही खेलपछि वैभवले आईपीएलमा पनि यो उपलब्धि हासिल गरे।

गुजरात टाइटन्सविरुद्धको क्वालिफायर-२ मा उनले ४७ बलमा ९६ रन बनाए। यस पारीका क्रममा उनी आईपीएलमा आफ्नो १,००० रनको आँकडामा पुगे। यसका लागि उनले मात्र ४४० बल खेले।

यसअघि यो रेकर्ड आन्द्रे रसेलको नाममा थियो। उनले ५४५ बलमा आईपीएलको १,००० रन पूरा गरेका थिए।

एक टी-२० प्रतियोगितामा सबैभन्दा धेरै छक्का

आईपीएल २०२६ मा वैभवले एक सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने क्रिस गेलको रेकर्ड तोडे।

उनले यस प्रतियोगितामा ३२७ बलको सामना गर्दै ७२ छक्का प्रहार गरे र ७७६ रन बनाए। यस प्रदर्शनका लागि उनले ओरेन्ज क्याप पनि प्राप्त गरे।

गेलले आईपीएल २०१२ मा ४५६ बलको सामना गर्दै ५९ छक्का प्रहार गरेका थिए।

पुरुषहरूको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक

इंग्ल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात वैभवका लागि कठिन रहेको थियो। तर, जिम्बाब्वेविरुद्ध उनले पुनरागमन गरे।

उनले जिम्बाब्वेविरुद्ध १८ बलमा अर्धशतक प्रहार गरे। त्यतिबेला उनको उमेर १५ वर्ष ११८ दिन थियो। यससँगै उनी पुरुषहरूको अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो ब्याट्सम्यान बने।

अन्तर्राष्ट्रिय क्रिकेटमा प्लेयर अफ द सिरिज बन्ने सबैभन्दा कान्छो खेलाडी
जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा भारतले ३-० ले जित दर्ता गर्‍याे। यस सिरिजमा वैभवले १५१ रन बनाए र उनको स्ट्राइक रेट १९६.१० रह्यो। उनी प्लेयर अफ द सिरिज चुनिए।

१५ वर्ष १२१ दिनको उमेरमा यो पुरस्कार जितेर उनी अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बने।

यसअघि यो रेकर्ड महिला क्रिकेटमा भारतकी शेफाली वर्माको नाममा थियो। उनले १५ वर्ष २९६ दिनको उमेरमा यो पुरस्कार जितेकी थिइन्। पुरुष क्रिकेटमा यो रेकर्ड अफगानिस्तानका रहमानुल्लाह गुरबाजको नाममा थियो, जसले १७ वर्ष ३०० दिनको उमेरमा प्लेयर अफ द सिरिजको पुरस्कार हासिल गरेका थिए।

प्रकाशित: ८ मंसिर २०८३ २०:४७ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast