काठमाडौँ- भारतको प्रतिष्ठित औद्योगिक कम्पनी टाटा समूहको भविष्यलाई लिएर विवादमा रहेका दुई शीर्ष नेतृत्व आगामी साता सञ्चालक समितिको बैठकमा आमनेसामने हुने भएका छन्। भारतको सबैभन्दा ठूलो व्यावसायिक समूहलाई सेयर बजारमा सूचीकृत गर्न नियामक निकायले दबाब बढाइरहेका बेला नेतृत्वबीचको विवादले प्राथमिक निष्कासन (आईपीओ) नै अनिश्चित बन्न सक्ने भन्दै बैंक तथा वित्तीय क्षेत्रका अधिकारीहरू चिन्तित छन्।
समूहको मुख्य होल्डिङ कम्पनी टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन र टाटा सन्समाथि नियन्त्रण राख्ने परोपकारी ट्रस्टहरूको नेतृत्व गरिरहेका नोएल टाटाबीच १५८ वर्ष पुरानो चिया व्यवसायदेखि रेन्ज रोभरसम्म फैलिएको व्यावसायिक साम्राज्य कसरी सञ्चालन गर्ने भन्ने विषयमा मतभेद चुलिएको छ। दुवै जना आआफ्नो अडानबाट पछि हट्न तयार देखिएका छैनन्।
भारतको केन्द्रीय बैंकले गत साता टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्नुपर्ने धारणा दोहोर्याएको थियो। केन्द्रीय बैंकले कम्पनीलाई वित्तीय प्रणालीका लागि महत्त्वपूर्ण संस्थाका रूपमा वर्गीकरण गरेको छ तर समूहका शीर्ष नेतृत्वबीच नै टकराव भइरहेका बेला आईपीओ सम्भव हुन्छ कि हुँदैन भन्नेमा बैंक तथा वित्तीय क्षेत्रका अधिकारीहरूले प्रश्न उठाएका छन्।
कोटक अल्टरनेट एसेट म्यानेजर्सका प्रबन्ध निर्देशक श्रीनी श्रीनिवासनले सबैभन्दा ठूला सेयरधनीको समर्थनबिना टाटा सन्सको आईपीओ निष्कासन गर्न कठिन हुने बताएका छन्। उनका अनुसार लगानीकर्ताले संस्थापकको व्यावसायिक वृद्धि र भविष्यको योजनामा विश्वास गरेर लगानी गर्छन्।
मुम्बईस्थित एक वित्तीय क्षेत्रका अधिकारीले भने, ‘मुख्य सेयरधनी सेयर बिक्री वा अध्यक्षको पुनर्नियुक्तिको समर्थनमा छैनन् भने हामीले विवरणपत्रमा के उल्लेख गर्ने?’
चन्द्रशेखरनको विचारमा समूहको रणनीति व्यावसायिक व्यवस्थापकहरूले तय गर्नुपर्छ। उनी टाटा परिवार र ट्रस्टहरूले व्यवसायको प्रत्यक्ष व्यवस्थापनबाट पछि हट्नुपर्ने पक्षमा छन्। उनको सोचबारे जानकार व्यक्तिहरूका अनुसार चन्द्रशेखरन समूहलाई व्यावसायिक नेतृत्वको हातमा राख्न चाहन्छन्।
६३ वर्षीय चन्द्रशेखरन कम्तीमा पाँच वर्ष नेतृत्वमा रहेर कम्पनीलाई सेयर बजारमा सूचीकृत गर्ने प्रक्रिया पूरा गर्न र व्यवस्थित उत्तराधिकारी योजना बनाउन चाहन्छन्। आगामी नोभेम्बर ३० मा बस्ने सञ्चालक समिति बैठकमा उनले आईपीओको समयतालिका तय गर्ने प्रस्ताव फेरि अघि सार्ने सम्भावना छ।
मूलतः बिहीबारका लागि तय भएको बैठक नोएल टाटाले बैठकका कागजात सात दिनअघि नै वितरण नगरिएको भन्दै आपत्ति जनाएपछि नोभेम्बर ३० का लागि सारिएको दुई जानकार व्यक्तिले बताएका छन्।
नोएल भने २६५ अर्ब अमेरिकी डलर मूल्यको टाटा समूहको विशिष्ट पहिचान जोगाउन संस्थापक परिवारले ट्रस्टमार्फत आफ्नो प्रभाव कायम राख्नुपर्ने अडानमा छन्। सेयर बजारमा सूचीकृत भएपछि बजारको दबाबका कारण कम्पनीले दीर्घकालीन लगानीका निर्णय लिन नसक्ने र सहायक कम्पनीहरूलाई आवश्यक परेको बेला अन्तिम ऋणदाताका रूपमा सहयोग गर्न नसक्ने उनको तर्क छ।
७० वर्षीय नोएलले दुई सञ्चालन कम्पनीलाई टाटा सन्समा गाभ्ने प्रस्ताव अघि बढाएका छन्। यसो गर्दा टाटा सन्सको होल्डिङ कम्पनीको वर्गीकरण परिवर्तन हुनेछ र सेयर बजारमा सूचीकृत हुनुपर्ने दबाब हट्नेछ।
दुवै नेतृत्वले एकअर्काको योजना रोक्ने प्रयास गरिरहेका छन्। टाटा सन्सको सञ्चालक समितिले गत सेप्टेम्बरमा चन्द्रशेखरनलाई पाँच वर्षका लागि पुनः अध्यक्ष नियुक्त गरे पनि नोएलले कम्पनीको विधानविपरीत नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन्।
नोभेम्बर २० मा टाटा सन्सका कम्पनी सचिवलाई लेखिएको पत्रमा नोएलले चन्द्रशेखरनको पुनर्नियुक्ति सञ्चालक समितिलाई पूर्वसूचना नदिई गरिएको दाबी गरेका छन्। उनका अनुसार नियुक्तिका लागि मनोनयन समितिको सिफारिस लिइएको थिएन र ट्रस्टबाट मनोनीत सञ्चालकहरूको बहुमतले पनि समर्थन गरेको थिएन।
चन्द्रशेखरनले टाटा ट्रस्टभित्र नोएलको समर्थन आधार कमजोर बनाउँदै लगेका छन्। उनले ट्रस्टका तीन प्रभावशाली सदस्यको समर्थन जुटाएका छन्। यसले नोएललाई ट्रस्टको सम्पूर्ण मतदान अधिकार प्रयोग गर्न कठिन बनाएको छ।
गत साता नोएलका ८५ वर्षीय सौतेनी दाजु जिमी टाटाले चन्द्रशेखरनको पुनर्नियुक्तिको समर्थनमा विज्ञप्ति जारी गरेका थिए। केही ट्रस्टमा सदस्य रहेका जिमीले नोएलमाथि ‘पछाडिको ढोकाबाट नियन्त्रण कब्जा गर्ने प्रयास’ गरेको आरोपसमेत लगाएका थिए।
टाटा सन्सको सञ्चालक समितिमा चन्द्रशेखरनका समर्थक ट्रस्ट प्रतिनिधि भेनु श्रीनिवासनले सबैभन्दा ठूलो ट्रस्टमध्ये एकलाई अनुसन्धानका लागि राज्यको परोपकारी आयोगमा पठाएका छन्। यसका कारण टाटा सन्ससम्बन्धी विषयमा मतदान गर्न आवश्यक गणपूरक संख्या जुटाउन ट्रस्टहरूलाई कठिन भएको छ।
दुवै नेताका निकट व्यक्तिहरूका अनुसार नोएल र चन्द्रशेखरनले गत महिना मुम्बईमा भेटेर मतभेद समाधान गर्ने प्रयास गरेका थिए तर बैठक छोटो समयमै सकिएको थियो। दुवै पक्षले आआफ्ना अडान दोहोर्याउनुबाहेक कुनै प्रगति हुन सकेन।
सिंगापुर नेसनल युनिभर्सिटीका कर्पोरेट कानुनका प्राध्यापक उमाकान्त वरोटिलले नोभेम्बर ३० मा हुने सञ्चालक समिति बैठकबाट गतिरोध अन्त्य हुने सम्भावना निकै कम रहेको बताएका छन्। उनका अनुसार दुवै पक्षबीचका आधारभूत मतभेद निकै गहिरा छन्।
‘यथास्थिति कायम रहने सम्भावना छ,’ उनले फाइनान्सियल टाइम्ससँग भने, ‘सबैभन्दा खराब अवस्थामा यो विवाद अझ चर्किएर लामो कानुनी लडाइँमा परिणत हुन सक्छ।’
नोएल र चन्द्रशेखरन दुवैले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
टाटा सन्सका अर्का प्रमुख सेयरधनी निर्माण कम्पनी शापूरजी पल्लोनजीले आफ्नो १८.४ प्रतिशत सेयरबाट केही रकम प्राप्त गर्ने उपाय खोजिरहेका छन्। यो कम्पनी मिस्त्री परिवारको स्वामित्वमा छ।
मुम्बईका बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार कम्पनीले करिब ६ अर्ब अमेरिकी डलरसम्मको ऋण चुक्ता गर्न चाहेको छ। उक्त ऋणमध्ये केही उच्च ब्याजदरमा पुनर्वित्त गरिएको छ भने केही ऋण टाटा सन्सको सेयर धितो राखेर लिइएको छ।
मिस्त्री परिवारकी सदस्य आलु मिस्त्रीसँग विवाह गरेका नोएलले शापूरजी पल्लोनजीको केही सेयरका लागि दुई सय ५० अर्ब भारतीय रुपैयाँ (दुई अर्ब ७० करोड अमेरिकी डलर) नगद प्रस्ताव गरेका छन्। तर निर्माण कम्पनीले आईपीओको पक्षमा समर्थन जनाएको छ। बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार आईपीओबाट सेयरको मूल्य बढी प्राप्त हुन सक्ने र बाँकी सेयरबाट पनि रकम जुटाउन थप सहज हुने भएकाले कम्पनी त्यसको पक्षमा छ।
यो विवादले राजनीतिक रूपसमेत लिएको छ। विपक्षी नेता राहुल गान्धीले गत महिना टाटा समूहलाई सरकारले ‘आपराधिक ढंगले ध्वस्त पारिरहेको’ आरोप लगाएका थिए। त्यसको जवाफमा अर्थमन्त्री निर्मला सीतारमणले राहुलको कांग्रेस पार्टीले दशकौँदेखि भारतका उद्यमीहरूको भावना दबाएको आरोप लगाएकी थिइन्।
मुम्बईका एक अर्बपतिका अनुसार राहुलले सरकारको हस्तक्षेपको विषय उठाएपछि नयाँदिल्लीले यो विवादमा प्रत्यक्ष सार्वजनिक हस्तक्षेप गर्नबाट जोगिने सम्भावना छ।
चन्द्रशेखरनका निकट व्यक्तिहरूका अनुसार उनी प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्का प्रभावशाली सदस्यहरूसँग आफ्नो निकट सम्बन्धप्रति विश्वस्त छन्। अर्थमन्त्री सीतारमणसँग पनि उनको राम्रो सम्बन्ध रहेको बताइन्छ।
चन्द्रशेखरनले आफूलाई राष्ट्रिय रणनीतिक महत्त्वका परियोजना अघि बढाउन सक्ने नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन्। यसअन्तर्गत ठूलो सेमिकन्डक्टर उत्पादन केन्द्र निर्माण र सन् २०२२ मा टाटा समूहले खरिद गरेको घाटामा रहेको राष्ट्रिय ध्वजावाहक एयर इन्डियालाई पुनर्जीवित गर्ने योजना छन्।
चन्द्रशेखरनका निकट व्यक्तिहरूका अनुसार सन् २०२४ मा टाटा सन्स र टाटा ट्रस्टका तत्कालीन अध्यक्ष रतन टाटाको निधनपछि सञ्चालक समिति चन्द्रशेखरनका निर्णयमा छाप लगाउने निकायजस्तो मात्र बनेको भन्दै नोएल चिन्तित छन्।
बैंकिङ क्षेत्रका अधिकारी तथा विश्लेषकहरूले यो गतिरोध अन्त्य गर्ने सहज उपाय दुवै नेतृत्वबीचको सम्झौता हुन सक्ने बताएका छन्। त्यसमा चन्द्रशेखरनको कार्यकाल सीमित अवधिका लागि थप गर्ने र नोएलले टाटा सन्सलाई सूचीकृत हुन नदिने तर चन्द्रशेखरनलाई कार्यसम्पादनका आधारमा जवाफदेही बनाउने विकल्प हुन सक्छ।
मुम्बईस्थित कर्पोरेट सुशासन तथा उत्तराधिकारी व्यवस्थापन सल्लाहकार श्रीनाथ श्रीधरनका अनुसार यो विवादले भारतका ठूला उद्योगका संस्थापक तथा प्रमुख सेयरधनीहरूलाई समेत चिन्तित बनाएको छ।



