देउवाप्रति गगनको चिन्ता : तपाईं अग्लै ठाउँमा बस्नुस्, तल नझर्नुस्

हिमाल प्रेस ८ मंसिर २०८३ १५:४८ | Tuesday, November 24, 2026
देउवाप्रति गगनको चिन्ता : तपाईं अग्लै ठाउँमा बस्नुस्, तल नझर्नुस्

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बोली र व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार सम्बोधन गर्दै थापाले देउवा नेपालको लोकतान्त्रिक आन्दोलनका सम्मानित नेता भएकाले पार्टीभित्रका असहमतिलाई राजनीतिक ढंगले उठाउन आग्रह गरे।

‘देउवा नेपालको हस्ती हुनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनमा उहाँको ठूलो भूमिका छ। तपाईं हाम्रो सम्मानित नेता हो। पार्टीभित्रका विमतिबारे प्रश्न उठाउँदा राजनीतिक रूपमा उठाउनुहोला। त्यो कदको नेताको वाणी, बोली र असहमति राजनीतिक हुनुपर्छ। तपाईं अग्लै ठाउँमा बस्नुस्, तल नझर्नुस्। त्यही मेरो चिन्ता हो,’ थापाले भने।

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट नेपालको दीर्घकालीन हितका विषयमा के उपलब्धि भयो भन्नेबारे सरकारले नागरिकलाई जानकारी दिनुपर्ने थापाले बताए।

थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा पाँच वर्षसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले निर्बाध काम गर्न पाउनुपर्ने धारणा राखे। विगतमा जस्तो सरकार परिवर्तनको नियति दोहोरिन नहुने भन्दै उनले रास्वपाका आन्तरिक मामिलामा कांग्रेस प्रवेश नगर्ने स्पष्ट पारे।

‘हामी प्रतिपक्षमा गठबन्धन बनाउने पक्षमा छैनौँ। सरकारलाई प्रश्न गर्न, हातेमालो गर्न र प्रतिरोध गर्न तयार छौँ। प्रतिपक्षको सशक्त जिम्मेवारी पूरा गर्न हामी तयार छौँ,’ उनले भने।

प्रतिपक्षी दलको जिम्मेवारी सरकारका हरेक कामको विरोध गर्नु मात्र नभई आवश्यकताअनुसार सहयोग गर्ने र कमजोरीमा प्रश्न उठाउने पनि भएको थापाको भनाइ थियो। नागरिकका सरोकारलाई सरकारसमक्ष पुर्‍याउने काममा कांग्रेस सक्रिय रहने उनले बताए।

भोटेकोशी बाढीपहिरोपीडित अझै राहतको भरमा बस्नुपरेको र उनीहरूको पुनर्वासका लागि कांग्रेसले गरेको आग्रह सरकारले नसुनेको थापाले बताए। पीडितहरू कहिले आफ्नो घर फर्किन पाउने भन्ने टुंगोसमेत नलागेको उनको भनाइ थियो। सुकुम्बासी समस्याको पछिल्लो अवस्थाबारे पनि आफूहरू अनभिज्ञ रहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढीपहिरोका विषयमा दिएको अभिव्यक्तिलाई कांग्रेसले समर्थन गरेको भए पनि जलवायु परिवर्तनका मुद्दामा नेपालले के उपलब्धि हासिल गर्‍यो भन्नेबारे सरकार संवेदनशील नदेखिएको थापाको टिप्पणी थियो। स्वास्थ्य बिमा कार्यक्रम तहसनहस भएको र महँगीका कारण नागरिकको भान्छा महँगिएको भन्दै उनले यी विषयमा कांग्रेस चुप लागेर नबस्ने बताए।

सरकारले अध्यादेश ल्याउनु स्वाभाविक भए पनि त्यसबारे राष्ट्रपतिलाई जानकारी नगराइएको विषयमा उनले आपत्ति जनाए। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउनुपर्ने उनको भनाइ थियो।

अनुसन्धानका क्रममा सरकारनिकट व्यक्तिलाई उन्मुक्ति दिन नहुने उनको भनाइ थियो। ‘कोही मानिस सरकारको नजिक भएका कारण छुट पाउनु हुँदैन। कोही मानिस बालेन शाहसँग नजिक भएका कारण छुट पाउनु हुँदैन। नेपाली कांग्रेस कुनै पनि अनुसन्धानमा सघाउन तयार छ। अनुसन्धानमा तानिएकालाई जोगाउन राज्य संयन्त्र प्रयोग गरिएमा कांग्रेस औँला उठाउँछ। सत्य र न्यायका पक्षमा उभिन्छ,’ उनले भने।

सभापति निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेट गरेको जानकारी पनि थापाले दिए। राजनीतिक दलका नेताहरूबीच छलफल हुनु स्वाभाविक भएको भन्दै उनले यसलाई कांग्रेसको राजनीतिक चरित्रका रूपमा व्याख्या गरे।

पार्टीको अधिवेशनमा सहभागी नभएका नेताकार्यकर्तालाई पनि विभिन्न जिम्मेवारी दिन आफू तयार रहेको थापाले बताए। वरिष्ठ नेताहरूलाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको उनको भनाइ थियो।

थापाले कांग्रेसको ऐतिहासिक राजनीतिक भूमिकाको चर्चा गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सबै राजनीतिक दलसँग समन्वय गर्ने काम कांग्रेसले नै गरेको बताए। जनमत कम आए पनि राष्ट्रिय शक्तिका रूपमा कांग्रेसले संविधान निर्माणको प्रक्रिया अघि बढाएको उनको भनाइ थियो।

उनले अहिले लोकतान्त्रिक संस्थाहरूको अस्तित्व रक्षाको प्रश्न उठिरहेको भन्दै लोकतन्त्र जोगाउने र समाजमा विद्यमान द्वन्द्व अन्त्य गर्ने जिम्मेवारी कांग्रेसको भएको बताए। निर्वाचनको परिणामले मात्रै कांग्रेसको जिम्मेवारी पूरा नहुने उनको भनाइ थियो।

प्रकाशित: ८ मंसिर २०८३ १५:४८ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast