मुस्ताङ- समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकन गर्न दैनिक १०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् । हिउँदयामको चिसो मौसममा समेत जोमसोम–कोरला सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) न्हेचुङले जनाएको छ ।
पछिल्ला केही वर्षयता नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय केन्द्र बन्दै गएको छ । जोमसोमदेखि कोरला नाकासम्मको ११० किलोमिटर दूरी तय गर्दै पर्यटक कोरला नाका अवलोकनका लागि आउने गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले जानकारी दिए। सडकमार्ग हुँदै कोरला नाका पुगेका पर्यटकको बीओपी न्हेचुङ चेकपोस्टले दैनिक अभिलेख राख्ने गरेको उनले बताए ।
भारतीय नाकाबन्दीपछि नेपाल–चीन कोरला नाकामा पर्यटकीय चहलपहल सुरु हुन थालेको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरला नाका अवलोकन गर्न पर्यटक उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।
हिउँदयाम सुरु भएसँगै उपल्लो मुस्ताङको तापक्रम माइनसमा झर्न थालेको छ । नाका क्षेत्रमा झनै अत्यधिक चिसो बढेको छ । यद्यपि अत्यधिक चिसोको प्रवाह नगरी आन्तरिक तथा बाह्य पर्यटक कोरला नाका पुग्ने गरेका छन् । गर्मीयाममा भने कोरला नाका अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गर्छन् । कोरला नाका अवलोकन गर्न पुगेका पर्यटकले नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित २४ नं सिमास्तम्भ नजिक फोटो, भिडियो र टिकटक बनाउने गर्छन् । हिउँदयाममा पनि कोरला नाकामा पर्यटक तथा व्यापारिक चहलपहलको रौनक देखिन्छ ।
कोरला नाकामा पर्यटक लक्षित करिब १०० भन्दा बढी स्थानीय त्रिपालमुनि व्यापार गर्न बसेका छन् । उनीहरू दैनिक आलोपालो गरी सवारीसाधनको सङ्ख्याअनुसार नाकामा आएका पर्यटकलाई चिनियाँ सामान बिक्री गर्ने गर्छन् । गत असोज ११ गतेको भारी हिमपातले कोरला नाकाको सीमाक्षेत्रमा हिउँ पग्लिएर हिलाम्मे भएकाले सवारीसाधन, मालवाहक कन्टेनर र पर्यटकलाई निकै असहज भएको छ ।
कोरला नाका अवलोकन गर्न आउने पर्यटक चीनतर्फका ठूला–ठूला भौतिक संरचना देखेर खिन्न हुने गर्छन् । नेपालतर्फ भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह, एकीकृत सुरक्षा पोस्टलगायत व्यापारिक प्रतिष्ठानका पूर्वाधार नहुँदा व्यवस्थापनमा चुनौती देखिएको छ ।
कोरला नाकामा विद्युत् र इन्टरनेटको सुविधा नहुँदा त्यहाँ पुग्ने पर्यटकलाई समस्या हुने गरेको लोमान्थाङ–५ का तेञ्जिङ गुरुङले बताए । नाकामा बोरिङबाट पानी निकाल्ने व्यवस्था गरिएको भए पनि खानेपानीको समस्या यथावत् रहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पहुँच पुर्याए पनि नाकामा विद्युत् वितरण हुन नसकेकाले पर्यटक, कन्टेनर चालक र स्थानीय व्यापारीलाई समस्या भइरहेको उनले बताए ।



