काठमाडौँ- पाल्पामा ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
तिनाउ गाउँपालिका–६ सिसुवा खहरेका ४५ वर्षीय नन्दलाल बजगाइँको हत्या गरेको आरोपमा तिनाउ जन्तीलुङ्गका ३५ वर्षीय नारायण लम्तरी पक्राउ परेका हुन्।
ढुंगाले हानेर बजगाइँको हत्या गरेपछि उनी फरार थिए। उनले आइतबार साँझ बजगाईंको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
उनलाई रैनादेवी छहरा गाउँपालिका–४ छहराबजारबाट पक्राउ गरिएको हो। हत्या कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८३ ६:३२ | Tuesday, November 24, 2026
प्रतिक्रिया



