प्रधानमन्त्री बालेन नयाँदिल्लीमा, भव्य स्वागत (तस्बिरसहित)

हिमाल प्रेस ६ मंसिर २०८३ १६:०० | Sunday, November 22, 2026
16
SHARES
प्रधानमन्त्री बालेन नयाँदिल्लीमा, भव्य स्वागत (तस्बिरसहित)

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नयाँदिल्ली पुगेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँदिल्ली पुगेका हुन्। उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। विमानस्थलमा प्रधानमन्त्री शाहलाई भव्य स्वागत गरिएको छ। उत्तराखण्ड राज्यको स्थानीय गीतसंगीत बजाएर विमानस्थलमा उनलाई स्वागत गरिएको छ।

प्रधानमन्त्री शाहको भ्रणमा टोलीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य छन्।

यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीनजना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी छन्।

​भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग भोलि मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ। भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम छ।

त्यसैगरी दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछन्। ​भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटका क्रममा विदेशमन्त्री जयशंकरले भ्रमणका कार्यक्रम र अन्य तयारीबार प्रधानमन्त्री शाहलाई जानकारी गराउने कार्यक्रम छ।

सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १६:०० | Sunday, November 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast