काठमाडौँ- सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपीएफको जित सुनिश्चित भएको थियो।
एपीएफले प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै एपीएफले नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सन्तोष राईले जानकारी दिए।
डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ देखि धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो।



