काठमाडौँ – अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले देशव्यापी आपराधिक सूचना प्रणालीमा भएको साइबर आक्रमणबारे अनुसन्धान गरिरहेको छ।
सीएनएनले यस विषयमा जानकारी राख्ने दुई व्यक्तिलाई उद्धृत गर्दै जनाएअनुसार ह्याकरहरूले एफबीआईको राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) मा अनधिकृत पहुँच बनाएका छन्। पछिल्ला केही महिनामा उक्त प्रणालीमा भएको यो दोस्रो साइबर आक्रमण हो।
एनसीआईसी संघीय, राज्य तथा स्थानीय सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्ने महत्त्वपूर्ण प्रणाली हो। यसले अमेरिकी सुरक्षा निकायहरूलाई आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ।
यसैबीच, अमेरिकी कृषि विभाग पनि यसै साता साइबर आक्रमणको सिकार भएको एनबीसी न्युजले जनाएको छ। ह्याकरहरूले किसानलाई भुक्तानी गर्न प्रयोग हुने विभागको प्रणालीमा पहुँच बनाएका थिए।
अमेरिकी सरकारी निकायलाई लक्षित साइबर आक्रमणका घटना हवाई यातायात, बैंकिङ कारोबार तथा राष्ट्रिय सुरक्षा प्रणालीमा प्राविधिक अवरोध उत्पन्न भएका घटनापछि सार्वजनिक भएका हुन्।
अमेरिकी गुप्तचर अधिकारीहरूले बुधबार ती अवरोधहरू समन्वित वा कुनै राष्ट्रद्वारा प्रायोजित साइबर आक्रमण नभई मर्मतसम्भार तथा प्राविधिक परिवर्तनका कारण उत्पन्न भएका छुट्टाछुट्टै सेवा अवरोध भएको बताएका थिए।
यसैबीच, प्रविधि प्रणालीमा देखिएका अवरोधप्रति बढ्दो आलोचनाका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट बर्खास्त गरेका छन्। उनले सन् २०२५ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए।
एक्सियोसका अनुसार ट्रम्पले रक्षा मन्त्रालयकी प्रमुख सूचना अधिकारी कस्र्टन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशकमा नियुक्त गरेका छन्। उक्त नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ।



