पर्सा- प्रहरीले कात्तिकमा ७० लाख ७० हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो ।
त्यसैगरी, प्राकृतिक स्रोतको अवैध दोहन नियन्त्रणका क्रममा बालुवा, ढुंगा तथा गिट्टी ओसारपसारमा प्रयोग भएका १० वटा ट्र्याक्टर नियन्त्रणमा लिएर ५० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
कात्तिक महिनामा पर्सा जिल्लामा ३७ सवारीसाधन दुर्घटना भएका थिए । सो क्रममा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने ९४१ सवारीसाधनका चालकलाई कारबाही गरी रु १० लाख ८७ हजार राजस्व सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।



