फाइल तस्बिर
काठमाडौँ- पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी रोकेर पहिरो नियन्त्रणको काम गरिने भएको छ।
पहिरोका कारण मानवीय क्षतिसमेत भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गरेर पहिरो हटाउने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म बिहान ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म (पाँच घण्टा) सडक आवागमन बन्द गरिने जनाइएको छ।
जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गर्नका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस समयमा सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने छन्।
घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम जारी रहेकाले सडकमा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिरो व्यवस्थापनको काम अघि बढाउन सडक बन्द गरिएको हो।
सडक बन्द हुने समयमा वैकल्पिक यात्रा व्यवस्थापन गर्न तथा अनावश्यक दुःखबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
समस्या परे समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सडकखण्डका सूचना अधिकारीसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
साथै नारायणगढ तर्फबाट जाने गाडीलाई जुगेडी र आँपटारीमा, पोखरा तर्फबाट आएका गाडीलाई आँबुखैरेहनी र काठमाडौँ तर्फबाट आएका गाडीलाई रमाईलो डाँडामा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।



