काठमाडौँ- बलिउड अभिनेता सैफ अली खानलाई ज्यानमार्ने धम्की आएको छ।
समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो धम्की बाबा सिद्धिकी हत्याकाण्डका फरार अभियुक्त जीशान अख्तरको नामबाट दिइएको हो।
पछिल्ला केही हप्तायता बलिउड कलाकारहरुलाई धम्की आउने क्रममा यो ताजा घटना हो। यसअघि अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई धम्की आइसकेको छ।
मुम्बई प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ। एक प्रहरी अधिकारीले बताएअनुसार प्रहरीले उक्त धम्कीको सत्यतथ्य पत्ता लगाउने काम गरिरहेको छ।
‘अभिनेता सैली खानको फोनमा जीशान अख्तरको नामबाट एउटा भ्वाइस मेसेज आएको थियो। त्यसमा बाबा सिद्धिकीको जस्तो हाल भयो, उनको पनि त्यस्तै हुने भनिएको थियो,’ ती प्रहरी अधिकारीले भने।
प्रहरीले यो धम्की जीशान अख्तरले नै दिएको हो वा अरु कुनै व्यक्तिले उनको पहिचान दुरुपयोग गरिरहेको बारे अनुसन्धान गरिरहेको छ।
प्रहरीले कतै कसैले एआईको मद्तले उनको आवाज नक्कल गरेर चलचित्र कलाकारहरुलाई दुःख दिइरहेको त छैन भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको छ।



