बुटवल- भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारणसभाले सेयरधनीलाई ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित तथा हाल कायम रहेको एक अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजीको ३.६८ प्रतिशतका दरले हुन आउने सात करोड ४० लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश सेयरधनीलाई प्रचलित कानुनबमोजिम कर कट्टी गरी वितरण गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो।
त्यस्तै, लाभांश वितरणसँग सम्बन्धित कर प्रयोजनका लागि ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा विनियोजन गर्ने प्रस्तावसमेत अनुमोदन भएको कम्पनीले जनाएको छ।
बुटवलमा बिहिबार भएको आठौँ वार्षिक साधारणसभामा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुदीप सिंह अधिकारीले ऊर्जा क्षेत्रमा सम्भावनाको खोजी गर्दै कम्पनीलाई थप उचाइमा पुर्याउने लक्ष्य रहेको बताए।
प्रबन्ध सञ्चालक जगतबहादुर पोखरेलले बुटवलबाट कर्पोरेट संस्कृति, सामूहिक लगानी र समावेशी सहभागितालाई प्राथमिकता दिँदै अघि बढेको भिजन लुम्बिनी आज देशभर विस्तार हुन सफल भएको बताए।
उनले कम्पनीले संस्थागत सुशासन, सामूहिक प्रयास र सबैको सहभागितालाई आफ्नो सफलताको आधार बनाएको जानकारी दिए।
कार्यक्रममा एचआईडीसीएलका प्रतिनिधि वासुदेव भण्डारी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतलगायतले बोल्दै भिजनले नेपाली उर्जा क्षेत्रमा उल्लेख प्रगति गरिरहेको धारणा राखेका थिए।
त्यसैगरी कम्पनीका सल्लाहकार गणेशकुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य तथा पूर्वसञ्चालक सन्तोष पोखरेल, सेयर सदस्यहरू चिरञ्जीवी पौडेल र लक्ष्मण घिमिरेलगायतले कम्पनीको वर्तमान अवस्था, ऊर्जा क्षेत्रको सम्भावना तथा आगामी कार्यदिशाबारे धारणा राखेका थिए।
कम्पनीमा एक हजार ४८२ जना सेयर सदस्य रहेका छन्। कम्पनीले सेयरधनीको सहभागिता र विश्वासलाई आत्मसात् गर्दै ऊर्जा क्षेत्रमा आफ्नो लगानी तथा गतिविधिलाई अघि बढाउँदै आएको छ।
कार्यक्रमको सञ्चालन कम्पनीका कानुनी सल्लाहकार रामप्रसाद खनालले गरेका थिए।
यस्तै गरि आजै भिजन लुम्बिनी लिमिटेडको समेत एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले चुक्ता पूजीको ४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो। त्यस्तै २० प्रतिशत शेयर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको भिजन लुम्बिनी लिमिटेडले जनाएको छ ।



