मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच जुटेन सहमति

हिमाल प्रेस ३ मंसिर २०८३ १८:३९ | Thursday, November 19, 2026
12
SHARES
मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन।

कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ। तर, सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा दलहरूबीच ठोस सहमति नहुँदा राजनीतिक अन्योल बढेको छ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गरेका थिए।

निर्धारित समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए।

‘विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ,’ उनले भने, ‘कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन। अझै केही समय बाँकी छ, हेरौँ केही सहमति हुन्छ कि!’

नयाँ सरकार गठनका लागि आफूहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए।

मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनबारे निर्णय लिन नसक्दा पनि प्रक्रिया अन्योलमा परेको छ। एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि जसपा नेपालले ठोस निर्णय गर्न नसकेको बताइएको छ।

यसअघि पटकपटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालका नेताहरूले आगामी निर्वाचनको मुखमा प्रदेश सरकारको नेतृत्व लिन अनिच्छा देखाएको बताएका छन्।जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए।

सरकार गठनका विषयमा जसपा नेपालमा फरक मत देखिएको छ। अग्रगामी मोर्चाले गरेको निर्णयअनुसार जसपा नेपाल सरकारमा सहभागी हुन नहुने जसपा नेपालका कतिपय नेताहरूको तर्क छ। केही समयअघि गठन भएको अग्रगामी मोर्चाले प्रदेशसभा चुनावअघि कुनै पनि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो।

अग्रगामी मोर्चाको यो निर्णयका कारण सरकारको नेतृत्व लिने विषयमा जसपा नेपालभित्र अन्योल देखिएको छ। जसपा नेपालकै कतिपय नेताले भने एमालेसँग गठबन्धन गरेर सरकारमा सहभागी नहुने अडान लिएको बताइएको छ। त्यसैले संविधानको धारा १६८ (२) बमोजिम जसपा नेपाल सरकार गठन गर्न चाहेको छैन।

संविधानको यो धाराअनुसार भन्दा पनि जसपा नेपाल यही धाराको उपधारा ३ बमोजिम सरकार बनाउन चाहेको बताइएको छ। ‘…उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ १६८ को उपधारा ३ मा व्यवस्था छ।

यद्यपि यो उपधाराअनुसार बनेका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ। र, त्योबेला एमाले तथा नेकपाको समर्थन लिने रणनीतिमा जसपा नेपाल रहेको बताइएको छ। मुख्यमन्त्रीका लागि दुई जना दाबेदार देखिएकाले पनि जसपा नेपाललाई सरकार गठन गर्न सकस परेको छ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले आगामी मुख्यमन्त्रीका लागि दाबी गरेका छन्। त्यस्तै पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको पनि आगामी मुख्यमन्त्रीमा दाबी छ। सरकार बनाउने विषयमा जसपा नेपाललाई निर्णय लिन सकस परिरहेको बेला संरक्षक महन्थ ठाकुर बिहीबार जनकपुरधाम पुगेका छन्। सरकार गठनका सम्बन्धमा उनले पार्टी नेताहरूसँग छलफल गर्ने बताइएको छ।

केही दिनअघि अग्रगामी मोर्चामा समेत रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए।

कूल १०७ सदस्यीय मधेस प्रदेशसभामा जसपा नेपालका २८, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ जना प्रदेशसभा सदस्य छन्। त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य अपरिहार्य देखिएको छ। तर, सत्ता नेतृत्वको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण अझै अनिश्चित छ।

प्रकाशित: ३ मंसिर २०८३ १८:३९ | Thursday, November 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast