काठमाडौँ- इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लर्ड्सले आगामी जुन महिनामा नेपाल र बंगलादेशबीच पुरुष टी-२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने भएको छ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि मैदानमा पत्रकार सम्मेलन गर्दै ३ जुन २०२७ मा लर्ड्समा उक्त खेल हुने जनाएको हो। उक्त खेलपछि मिडलसेक्स टी-२० ब्लास्ट खेल पनि आयोजना हुने क्यानले जनाएको छ।
इंग्ल्याण्ड भ्रमणका क्रममा नेपालले वोम्र्सले र बेकेनहममा हुने अन्तर्राष्ट्रिय खेलहरूको शृंखलामा आयरल्याण्ड र स्कटल्याण्डको पनि सामना गर्नेछ।
विश्वभर ‘स्पिरिट अफ क्रिकेट’ को अवधारणा फैलाउने एमसीसीको कार्यक्रमअन्तर्गत क्लबले गत वर्ष नेपाल प्रिमियर लिगमा स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गर्न क्यानसँग साझेदारी गरेको थियो, र जारी प्रतियोगिताको समापनमा अर्को अवार्ड प्रदान गरिने एमसीसीका प्रमुख कार्यकारी अधिकृत तथा सचिव रोबर्ट लसनले बताए।
उनले एमसीसी र क्यानबीचको सम्बन्ध बढ्दै गएको भन्दै लर्ड्समा नेपाल र बंगलादेशको टोलीलाई स्वागत गर्न प्रतिक्षारत रहेको उल्लेख गरे।
त्यस्तै नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेटको घर लर्ड्समा जानु सधैँ अपार गर्व र सम्मानको क्षण भएको बताए। नेपालमा क्रिकेटको विकासमा एमसीसीको निरन्तर साझेदारी र योगदानलाई क्यानले उच्च महत्वका साथ लिएको उनले उल्लेख गरे।
त्यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले लर्ड्स मैदानमा बंगलादेशविरुद्धको ऐतिहासिक खेलका लागि उत्साहित रहेको बताए।



