विदेशी लगानी प्रतिबद्धता ४६.७ प्रतिशतले घट्यो

हिमाल प्रेस २ मंसिर २०८३ १७:३६ | Wednesday, November 18, 2026
विदेशी लगानी प्रतिबद्धता ४६.७ प्रतिशतले घट्यो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालमा विदेशी लगानीको प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७ प्रतिशतले घटेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीकर्ताले चार सय ९७ परियोजनामा १९ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा तीन सय ८२ परियोजनाका लागि ३६ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा स्वीकृत परियोजनाबाट ६ हजार दुई सय एक जनालाई रोजगारी दिने प्रतिबद्धता गरिएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा स्वीकृत परियोजनाले दिने भनेको ३३ हजार आठ सय १४ रोजगारीको तुलनामा निकै कम हो।

चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा मात्रै ८५ परियोजनाका लागि तीन अर्ब ४२ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। यसअघि साउनमा एक सय ९१ परियोजनाका लागि तीन अर्ब ७७ करोड, भदौमा एक सय ३६ परियोजनाका लागि ६ अर्ब ३५ करोड र असोजमा ९४ परियोजनाका लागि पाँच अर्ब १० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानीकर्ताको रुचि देखिएको छ। यस क्षेत्रमा २७२ परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा एक सय ४६, सेवा क्षेत्रमा ४४ र उत्पादनमूलक क्षेत्रमा २९ परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ।

तर लगानी प्रतिबद्धताको रकमका आधारमा भने पर्यटन क्षेत्र सबैभन्दा अगाडि छ। पछिल्लो चार महिनामा पर्यटनका एक सय ४६ परियोजनाका लागि आठ अर्ब ६७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ। ऊर्जा क्षेत्रमा तीन परियोजनाका लागि चार अर्ब पाँच करोड र सेवा क्षेत्रमा ४४ परियोजनाका लागि तीन अर्ब ९५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

त्यस्तै उत्पादनमूलक क्षेत्रमा २९ परियोजनाका लागि एक अर्ब ७५ करोड रुपैयाँ र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दुई सय ७२ परियोजनाका लागि ९७ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। कृषि तथा वनजन्य उद्योगका तीन परियोजनाका लागि १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। खनिज तथा पूर्वाधार क्षेत्रमा भने विदेशी लगानीको कुनै प्रतिबद्धता आएको छैन।

यद्यपि प्रतिबद्धता जनाइएको विदेशी लगानीको सानो हिस्सा मात्रै वास्तविक लगानीका रूपमा नेपाल भित्रिने गरेको तथ्यांकले देखाउँछ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विदेशी लगानीको प्रतिबद्धता करिब ६४ अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो। तर वास्तविक विदेशी लगानी आप्रवाह भने १२ अर्ब दुई करोड रुपैयाँमा सीमित रह्यो। यो प्रतिबद्धता रकमको १८.५ प्रतिशत मात्रै हो।

यसैबीच समीक्षा अवधिमा विदेशी लगानीकर्ताले लाभांशबापत लैजाने रकम ३२.४२ प्रतिशतले बढेर तीन अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको साउनदेखि कात्तिक मध्यसम्म विदेशी लगानीकर्ताले दुई अर्ब नौ करोड रुपैयाँ लाभांशका रूपमा लगेका थिए।

प्रकाशित: २ मंसिर २०८३ १७:३६ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast